राजनीति

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

संसद्को हिउँदे अधिवेशन आइतबार अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले वैशाख २ गते संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय लिएको हो। अबको एक महिनाभित्र बर्खे अधिवेशन बोलाउनुपर्ने अवस्था छ। संसद् सञ्चालनमा उत्पन्न गतिरोध अन्त्य गर्न नसकेपछि सरकारले अधिवेशन अन्त्यका लागि सिफारिसको निर्णय गरेको हो।

गतिरोधका कारण केही समयअघि नै संसद् अधिवेशन अन्त्य गर्नुपर्ने अवस्था आएको संसद् सचिवालय स्रोतले जानकारी दियो। सरकारले वैशाख तेस्रो साता लगानी सम्मेलन गर्न लागेको छ।

लगानी भित्र्याउन केही कानुन संशोधन आवश्यक छ। संसद्ले कानुन संशोधन गर्न नसक्ने अवस्था आएपछि सरकारले अध्यादेशको सहारा लिने भएको छ। संसद् चलाउन नसक्ने र संसद् चलिरहेका बेला अध्यादेश ल्याउन नपाइने भएपछि सरकार अधिवेशन अन्त्य गर्ने निष्कर्षमा पुगेको हो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम ठगी गरेको आरोप लागेको भन्दै संसदीय छानबिन समिति गठनको माग राखेर सदन सञ्चालनमा अवरोध गर्दै आएकाले सरकारले सदन छल्न अधिवेशन अन्त्यको निर्णय गरेको बताइएको छ।

प्रकाशित: १ वैशाख २०८१ ०७:०९ शनिबार

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस मन्त्रिपरिषद्