राजनीति

म काँग्रेसमा नयाँ मुना पलाओस् भन्छु, तर मति बिगारिरहन्छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउँदै राष्ट्रिय गौरव बढाउन एमाले बाहेक अर्को शक्तिबाट सम्भव नभएकोले ‘मिसन २०८४’त्यसकै निम्ति अघि ल्याइएको बताएका छन्।

मदन भण्डारी स्मृति प्रतिष्ठान तथा एमाले ताप्लेजुङको नवनिर्मित भवनको बिहीबार फुङलिङमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले एमाले सरकारबाट बाहिरिएपछि राष्ट्रियता कमजोर भएको,राष्ट्रिय स्वाभिमानमा आँच आउन थालेको र विकास,समृद्धि र सुशासनमा समस्या देखा पर्न थालेको बताए। यस्ता समस्या धेरै दिन कायम रहन हुन्न भन्ने मनसायले नै गठबन्धन भाँचिदिएर आफूहरूले नयाँ समीकरण बनाएको ओलीको बोली थियो। ओलीले नयाँ बनेको सत्ता साझेदारीलाई गठबन्धन भन्न रुचाएनन्। उनले अहिलेको गठबन्धन नभई समीकरण मात्र भएको रुपमा बुझ्न आग्रह समेत गरेका छन्।

उनले मिसन २०८४ को लक्ष्य पूरा गर्न आफूलाई केन्द्र राख्ने प्रवृत्तिको अन्त्य गर्न कार्यकर्तालाई आग्रह गरेका छन्। काँग्रेसलाई पात झरेर थोत्रो भइसकेको रुखको संज्ञा दिँदै ओलीले भने‘म काँग्रेसको पात नझरोस् र झरेको पातमा नयाँ मुना पलाओस् भन्छु,काँग्रेस मति बिगारिहन्छ।’

ओलीले ताप्लेजुबाटै इलाम–२ र बझाङ उपनिर्वाचनका निर्वाचनमा होमिएका एमाले उम्मेदवारको मत मागेका छन्। ‘पढेलेखेका,विद्धान,युवा,सालिन र माटो सुहाउँदो सुहाङ नेम्बाङलाई मत दिएर जिताउन म इलामका रहेका तपाईँका साथीभाइ,आफन्त र भाञ्जा सबैलाई खबर गर्दिन आग्रह गर्छु, ताप्लेजुङका कार्यकर्तामाझ ओलीले भने। उनले बझाङका एमाले उम्मेदवार सशक्त र सृजनशील व्यक्ति भएकोले निर्वाचनमा जित्नेमा विश्वस्त रहेको बताए।

अनावश्यक राजनीतिक फण्डा,मिडियाबाजी र स्टनबाजीले जनताको मत जित्न नसकिने भन्दै उनले नयाँ राजनीतिक दलहरूप्रति कटाक्ष समेत गरेका छन्। राष्ट्र र जनतालाई बलियो बनाउँदै मुलुकलाई शान्ति,स्थायित्व,समृद्ध र स्वाभिमानले भरिएको सार्वभौम जनताको भावना कायम राख्न आफूहरूले मिसन २०८४ को सङ्कल्प गरेको र त्यो पूरा हुने उनले बताए। 

प्रकाशित: २९ चैत्र २०८० १६:५२ बिहीबार

नेकपा एमाले