उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आरती साह मृत्यु प्रकरणबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारीसँग अनुसन्धानको प्रगतिबारे जानकारी लिएका छन्।
बुधबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन जनकपुर आएका लामिछानेले मिटरब्याज पीडितहरूसँग पनि छलफल गरेका थिए।
उक्त गोष्ठी लामिछानेकै प्रमुख आतिथ्यमा सुरु भएको हो। गोष्ठीमा मधेस प्रदेशका आठ वटै जिल्लाका सुरक्षा प्रमुखहरू समेत गोष्ठीमा सहभागी छन्।
गोष्ठीमा प्रदेशको सुरक्षा अवस्था, सुरक्षा चुनौती, सुरक्षा तथा विपद् व्यवस्थापन, सेवा प्रवाह र शान्ति सुरक्षा कायम राख्न अपनाइने रणनीति विषयमा छलफल हुने मधेश प्रदेश गृह मन्त्रालय सचिव विरेन्द्र कुमार यादवले जानकारी दिए।
नेपाल सरकार, गृह मन्त्रालय र मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित उक्त गोष्ठीमा मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव, गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका प्रमुख (आइजिपी) वसन्त कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख (आइजिपी) राजु अर्याल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूका साथै मधेस प्रदेशका सुरक्षा निकाय प्रमुखहरुको उपस्थिति रहेको छ।
प्रकाशित: २८ चैत्र २०८० १५:१६ बुधबार