राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि आक्रोश पोखेका छन्।
राप्रपाले आज गरेको प्रदर्शनमा दमन गरिएको भन्दै लिङ्देनले आक्रोश पोखेका हुन्। थापाथलीमा कोणसभा गर्दै उनले बहालवाला सांसदमाथि गृहमन्त्रीको आदेशबीना प्रहरीले आक्रमण नगर्ने भन्दै आक्रोश पोखेका छन्।
‘गृहमन्त्रीको आदेशबीना बहालवाला सांसदलाई पुलिसले त्यसै गरेको होइन भन्ने हामीलाई थाहा छ। गृहमन्त्री ज्यु भ्रममा नपर्नुस् राजनीतिमा तपाई भन्दा धेरै अगाडिदेखि हामी छौं। शासनव्यवस्थाका कडीहरू तपाईले भन्दा हामीले बढी बुझेका छौं,’ लिङदेनले भने,‘तपाईमात्र जान्ने हो, तपाईले मात्र बुझेको हो, तपाई मात्र लोकप्रिय हो, तपाईमात्र इमानदार हो त्यो भ्रम नपाल्नुस्।’
आफूले राजनीतिक यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै अध्यक्ष लिङ्देनले गृहमन्त्री लामिछानेलाई आफूजस्तै कसम खाने तागत राख्न चुनौती दिए। ‘मैले भद्रकाली अगाडि उभिएर भनेको छु। यतिलामो राजनीतिक यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु। तपाईहरू त्यो तागत राख्नुहुन्छ ?,’ उनले भने।
गृहमन्त्री लामिछानेलाई आफूहरूले निषेधित क्षेत्र हटाउनुस् भन्दा आज राज्यशक्तिको तागत देखाएको लिङ्देनको भनाई छ। उनले भने,‘राप्रपाका मानिसलाई तागत देखाएर देखिस् म गृहमन्त्री हुँदा भनेर बहादुरी देखाउने ! तपाईंका दिन पनि देखौंला हामी यही ठाउँमा राजनीति गर्छौं।’
निषेधित क्षेत्र तोकेर गृहमन्त्री लामिछानेले आफ्नो सीमा तोकेको लिङ्देनले टिप्पणी गरे। ‘तपाईले निषेधित क्षेत्र घोषणा गरेर आफ्नो सीमा तोक्नुभो। त्यहाँभित्र हामी जान नपाउने होइन, तपाईहरू त्यहाँबाट बाहिर नआउने दिन खडा हुन्छ,’ उनले भने, ‘सिंहदरबार तपाईंको बाउको बपौती होइन, भ्रष्टाचारीको अखडा होइन। जनताले भ्रष्टाचारीको अखडा सधैभरी रहन दिँदैनन्।’
प्रकाशित: २७ चैत्र २०८० १८:१० मंगलबार