राजनीति

‘संसदीय छानबिन समिति’ को अडानमा कांग्रेस, निष्कर्ष बिना टुङ्गियो सभामुखसहितको छलफल

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि लागेको सहकारीको रकम अपचलन गरेको सम्बन्धी आरोप छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान कायम राखेको छ।

सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँगको छलफलमा कांग्रेस आफ्नो अडानबाट पछि हटेन। ‘हाम्रो कुरा मिलेन हामी बाहिर निस्कियौँ’, छलफलमा सहभागी नेताले भने। कांग्रेसले आफ्नो अडान कायम राखेपछि छलफल बिना निष्कर्ष टुङ्गिएको छ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरूबिच छलफल भएको थियो।

छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतक हितराज पाण्डे, एमालेका उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक, रास्वपाबाट सभापति रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियार थिए।

संसदीय छानबिन समिति नबने प्रतिनिधिसभा अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएपछि आज सभामुख घिमिरेको पहलमा छलफल भएको थियो।

प्रकाशित: २६ चैत्र २०८० १५:३६ सोमबार