राजनीति

‘सरकारले तोकेका निषेधित क्षेत्रहरु स्वीकार्य छैन, तोडेर प्रदर्शन गर्छौँ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले चैत्र २७ गतेको पार्टीको विरोध प्रदर्शनमा सरकारले तोकेका निषेधित क्षेत्रहरु तोडेर अघि बढ्ने बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उनले सरकारले कथित रुपमा तोकेका निषेधित क्षेत्रहरु राप्रपालाई मान्य नहुने बताएका हुन्।

राप्रपाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताउँदै सरकारले जुलुसलाई उत्तेजित बनाउन र अवरोध सिर्जना नगर्न उनको आग्रह थियो।

‘संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलाप अन्तर्गत विरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेको छ। निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनहरुलाई साँघुरो बनाउने प्रयत्नहरु राप्रपालाई स्वीकार्य छैन।’ उनले भने।

उनले प्रदर्शन शान्तिपूर्ण हुने, सर्वसाधारणलाई असुविधा पुग्ने कुनै क्रियाकलाप नगर्ने स्पष्ट पारे। कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोजे राप्रपाले प्रतिवाद गर्ने उनको चेतावनी थियो।

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग समान विचार राख्ने पार्टी र व्यक्तिहरूलाई एकताबद्ध भई आन्दोलनमा होमिन आग्रह गरे। उनले देश बचाउने र बनाउने मुद्दामा सबै एक हुनुपर्नेमा जोड दिए।

प्रकाशित: २५ चैत्र २०८० १७:४५ आइतबार