राजनीति

नयाँ सत्ता समीकरणलाई कमजोर हुन दिँदैनौं : ओली

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरणलाई कमजोर हुन नदिइने बताएका छन्।

नेकपा एमाले स्याङ्जाको नवौं जिल्ला अधिवेशनको आज स्याङ्जाको पुतली बजारमा उद्घाटन गर्दै उनले अहिलेको समीकरणलाई कमजोर हुन नदिने र थप मजबुद बनाउँदै लगिने बताएका हुन्। ‘यसअघि भएको गठबन्धन धेरैबेर टिक्दैन भनेको थिएँ, भयो पनि त्यस्तै’, उनले भने, ‘उक्त गठबन्धन खरानीको डल्लोजस्तो थियो, जुन पानी पर्नासाथ फुट्थ्यो, सुके पनि फुट्थ्यो, अहिलेको गठबन्धन कमजोर नभई बलियो छ।’

यो समीकरणलाई देखेर आन्तरिक तथा बाह्य शक्तिको रुवाबासी सुरु भएको उनको भनाइ थियो। ‘ एमाले यस्तै सरकार बनाइरहने र हेरफेर गरिरहने खेलमा लागिरहन्छ भन्ने पक्षमा होइन’, उनले भने, ‘त्यही अवस्थामा छाड्ने हो भने देशमा राजनीतिक अस्थिरता र अराजकता हुने भएकाले निकासका लागि नयाँ समीकरण बनाएका हौं।’

कम्युनिस्ट आन्दोलनलाई आन्तरिक तथा बाह्य शक्तिले घेराबन्दीमा हाल्ने र प्रहार गर्ने कोसिस भए पनि केही सीप नचल्ने बताए। उनले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा पार्टीलाई अगाडि बढाउँदै ‘मिसन ८४’ लाई निर्णायक तहमा पु¥याउने गरी अगाडि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए।

यो अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव एकएकजना, उपसचिव दुईजना र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गर्ने छ।

अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसंगठन सबैको प्रतिनिधित्व हुने गरी कुल ६ सय नौजना प्रतिनिधि रहेका छन्। –रासस

प्रकाशित: २३ चैत्र २०८० १७:५० शुक्रबार

नयाँ सत्ता समीकरण मजबुद बलियो नेकपा एमाले स्याङ्जा नवौं जिल्ला अधिवेशन