राजनीति

‘कांग्रेस-एमाले नमिलेसम्म न स्थिरता न विकास’

तस्वीर: शेखर कोइराला, कांग्रेस नेता

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस र नेकपा एमाले नमिलेसम्म मुलुकमा राजनीतिक स्थिरता र आर्थिक विकास नहुने बताएका छन्। मोरङ उद्योग व्यापार संघको ६७औं साधारणसभालाई बिहीबार सम्बोधनका क्रममा कोइरालाले यस्तो बताएका हुन्।

कोइरालाले नेपालको निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म राजनीतिक स्थिरता नहुने पनि प्रस्ट पारे। निर्वाचन प्रणाली बदल्न संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि कांग्रेस–एमाले नमिली दुई तिहाई बहुमत नपुग्ने उनले बताए।

‘राजनीतिक स्थिरताका लागि कांग्रेस–एमाले मिलेर निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ। कांग्रेस र एमाले नमिलेसम्म मुलुकमा आर्थिक विकास पनि सम्भव छैन,’ उनले भने।

कोइरालाले एउटै व्यक्ति उद्योग, सहकारी, बैंक, बिमा र पुनर्बिमा कम्पनीको पनि सञ्चालक हुँदा मुलुकको वित्तीय क्षेत्रमा अराजकता बढेको बताए। एउटै व्यक्ति सहकारीदेखि पुनर्बिमा कम्पनीसम्मको सञ्चालक हुन नपाउने व्यवस्था कानुनमै गर्नुपर्ने आवश्यकता उनले औंल्याए। उनले सहकारीको नियमन पनि नेपाल राष्ट्र बैंकले नै गर्नुपर्ने र यसबाट ऊ भाग्न नपाउने बताए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले आर्थिक मुद्दालाई राजनीतिक दलहरूले प्राथमिकता नदिएको भन्ने उद्योगी–व्यवसायीको आरोपको खण्डन गरे। २०४६ सालको राजनीतिक परिवर्तनपछि नै मुलुकले आर्थिक फड्को मारेको दाबी गर्दै उनले भने, ‘२०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेस नेतृत्वको सरकारले नै मुलुकमा आर्थिक सुधारका कार्यक्रम ल्याएको हो।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योगी–व्यवसायीको आत्मविश्वास बढाउन नसक्दा बैंकको ब्याजदर घट्दा पनि पर्याप्त मात्रामा कर्जा प्रवाह हुन नसकेको बताए। उनले सरकारले व्यवसायीको मनोबल बढाउने खालका नीति तथा कार्यक्रम ल्याउन सके मात्र नेपालमा स्वदेशी र विदेशी लगानी आकर्षित हुन सक्ने स्पष्ट पारे।

उनले १२ वटा कानुन तत्कालै संशोधन भए मात्रै आगामी लगानी सम्मेलन फलदायी हुन सक्ने धारणा राखे। मोरङ उद्योग व्यापार संघका अध्यक्ष नवीन रिजालले अर्थतन्त्र लयमा फर्किएको दाबी सरकारले गरिरहे पनि त्यसको अनुभूति उद्योगी-व्यवसायीले गर्न नसकेको बताए। 

प्रकाशित: २३ चैत्र २०८० ०८:१२ शुक्रबार

कांग्रेस नेता शेखर कोइराला नेपाली कांग्रेस