राजनीति

देशमा इमानदारिताको खडेरी लाग्यो: सांसद आलेमगर

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले राजनीतिक दलहरुमा इमानदारिताको कमी भएको बताएका छन्।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले देशमा इमानदारिताको खडेरी लागेको जिकिर गरेका हुन्। ‘यो देशमा इमानदारिताको खडेरी परेको छ। पहिलो कुरा त हामीसँग श्रोत, साधन नै छैन। बजेट निर्माण नै हुँदैन। बजेट पुग्दैन। बजेट निकासा हुँदैन। तर जहाँ बजेट निकासा हुन्छ, जहाँ बजेट विनियम हुन्छ, त्यो क्षेत्रमा पनि निर्माण भएको हुँदैन। बजेट खर्च हुँदैन। पुँजीगत रकम खर्च भएको हुँदैन।’ उनले भने।

सांसद आलेमगरले पर्याप्त श्रोत साधन नहुँदा बजेट निर्माण गर्नै कठिन हुने गरेको उल्लेख गरे। ‘बजेट निकासी गर्दा आफूलाई राम्रो हुने ठाउँमा मात्रै निकासी गर्ने चलन छ। बजेट विनियोजनमा इमानदारिता देखाउन नसक्दा पुँजीगत खर्च समेत हुन सकेको छैन।’

उनले नेताहरुले आफूले कमिसन खान पाउने ठाउँमा मात्रै बजेट खर्च गरिदिँदा समस्या आएको बताए। ‘त्यसको लागि योग्यता क्षमताको कुरा होइन, इमानदारिता चाहिन्छ। यो इमानदारिता मैले यहाँ देखिन। त्यसैले जुन बजेट छ, त्यो खर्च गर्न सकिएन।’ उनले भने। 

प्रकाशित: २१ चैत्र २०८० १६:४२ बुधबार