राजनीति

इलाम– २ मा कांग्रेसबाट खड्काकै सम्भावना

नेपाली कांग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम– २ मा डम्बर खड्कालाई नै उम्मेदवार बनाउने भएको छ। २०७९ मंसिरमा भएको निर्वाचनमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग झिनो मतान्तरले पराजित खड्कालाई नै कांग्रेसले उम्मेदवार बनाउने भएको हो।

यद्यपि बुधबार इलाम– २ को उपनिर्वाचनमा उम्मेदवार बन्न आकांक्षी अन्य नेतासँग पनि छलफल गरेर मात्र निर्णय गरिने एक पदाधिकारीले जानकारी दिए। आकांक्षी नेताहरूका विषयमा छलफल भएको जानकारी दिँदै ती पदाधिकारीले भने, ‘डम्बर खड्काकै बढी सम्भावना देखिएको छ।’

त्यहाँबाट खड्कासहित भेषराज आचार्य, डम्बर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई आकांक्षी छन्। त्यस्तै बझाङ (क) मा कांग्रेसले पृथ्वीबहादुर सिंहका छोरालाई उम्मेदवार बनाउने तयारी गरेको छ।

सिंहका छोरा अभिषेकसहित त्यहाँबाट सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय, नारायण हमाल र अभिषेक सिंहले इच्छा राखेका छन्। इलाम– २ मा एमालेले उक्त क्षेत्रमा उनकै छोरा सुहाङ नेम्वाङलाई अघि सारेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माओवादी केन्द्र छाडेर आएका मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाइसकेको छ।

लामिछानेलाई बोल्न नदिइने

प्रमुख प्रतिपक्षी कांग्रेसले सत्तापक्षले गृहमन्त्रीलाई संसद्मा उठेका प्रश्नको जवाफ दिने बहानामा रोस्ट्रममा पठाउन लागेको भन्दै त्यसलाई सफल हुन नदिने निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकमा गृहमन्त्रीलाई संसद्मा बोल्न नदिने निष्कर्ष निकालेको हो।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि आफ्नो मन्त्रालयसँग जोडिएका प्रश्नहरूको जवाफ दिने तयारी गरेको सुन्नमा आएको भन्दै एक नेताले भने, ‘हाम्रो मुद्दा सम्बोधन नभई गृहमन्त्रीले जवाफ दिने कार्यसूची आयो भने संसद् अवरुद्ध हुन्छ।’

सत्तापक्ष संसद्मा मुडभेडको पक्षमा रहेको भन्दै ती नेताले भने, ‘विपक्षको लचकतालाई कमजोरी ठानेर गृहमन्त्रीलाई रोस्ट्रम प्रवेश गराउन खोजियो भने त्यो ठिक हुनेछैन, संसद् चल्दैन।’ कांग्रेसले चैत २ मा सभामुखले गृहमन्त्री लामिछानेलाई राजनीतिक दलसम्बन्धी विधेयक पेस गर्न अनुमति दिँदा पनि कांग्रेस सांसदहरूले वेल घेराउ गरेका थिए।

प्रकाशित: २१ चैत्र २०८० ०७:५९ बुधबार

डम्बर खड्का इलाम– २ उपनिर्वाचन नेपाली कांग्रेस