राजनीति

गृहमन्त्रीकाे सुझाव: ‘सञ्चार माध्यममा आएका विषय जाँच नगरी नउठादिनुहोस’

गृहमन्त्री रवि लामिछानेले सञ्चार माध्यममा आएका विषयहरूको ‘तथ्य’ र ‘प्राविधिक’ जाँच नगरी सदन र समितिमा नउठाइदिन सांसदहरूलाई आग्रह गरेका छन्।

उनले सञ्चार माध्यमहरूमा आएका सबै कुराहरू आग्रह र पूर्वाग्रहपूर्ण हुँदैन भनेर मान्न नमिल्ने तर्क गर्दै राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य सांसदहरूलाई यस्तो आग्रह गरेका हुन। आफ्नो जवाफको अन्त्यतीर मेरो विशेष आग्रह भन्दै गृहमन्त्री लामिछानेले यो कुरा राखेका थिए।

उनले भने, ‘कतिपय विषयहरू साँच्चै महत्त्वपूर्ण भएर पनि आउँछन्। कतिपय विषयहरू प्रभावित भएर आउन सक्छन्। कतिपय आग्रह र पूर्वाग्रहबाट लेखिएका र लेखाइएका विषयहरू पनि आउँछन्। यस्ता विषयको विषयहरूको चेकजाँच गर्नुपर्ने हुन्छ। तीनका आधारहरू खोज्नुपर्ने हुन्छ। प्राविधिक जाँच नगरी सदन र समितिमा नउठाइदिन म तपाईँहरूलाई आग्रह गर्दछु।’

सामाजिक सञ्जालमा देखिएको आरोप प्रत्यारोप, सञ्चार माध्यमले लेखेको कुरा त्यही नै हो भन्ने छ र ? हामीले त्यसमा चेकजाँच गर्ने र आधारहरू खोज्नुपर्ने हुन्छ। प्राविधिक जाँच नगरी सदन र समितिमा डिसकशन गर्न सक्छौ होला र ? राजनीतिक प्रतिस्पर्धा र अस्वस्थ प्रतिस्पर्धाको सिकार त तपाईँहरू पनि हुनुभयो होला नि ? प्रविधि हो। प्रविधिको दुरुपयोग पनि त हुन्छ होला। यसको संवेदनशीलता बुझेर फ्याक्ट चेक गरेर मात्र सदन र समितिमा ल्याउने अभ्यासको विकास गरौँ।’

प्रकाशित: १४ चैत्र २०८० १४:५५ बुधबार