राजनीति

गृहमन्त्रीलाई रघुजीको सुझाव,‘व्यक्तिगत हतियार राख्न नपर्ने वातावरण सिर्जना गर्नुस्’

नेकपा एमालेका सांसद रघुजी पन्तले व्यक्तिगत सुरक्षाका लागि हतियार राख्नै पर्ने अवस्थाको अन्त्य गर्न गृहमन्त्री रवि लामिछानेलाई सुझाव दिएका छन्।

सांसद पन्तले प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बुधवार भइरहेको बैठकमा उपस्थित गृहमन्त्री लामिछानेलाई यस्तो सुझाव दिएका हुन।

केही दिन अघि सर्वोच्च अदालतको गेटमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँका दुई जना बडीगार्डहरूको साथबाट व्यक्तिगत हतियार बरामद भएको घटनालाई उदाहरण मान्दै यस्तो सुझाव दिएका हुन।

उनले कसैलाई पनि आफ्नो सुरक्षाका लागि आफैले व्यक्तिगत हतियार राख्नुपर्ने अवस्था आउन दिन नहुने बताएका हुन। सांसद पन्तले भने, ‘सुरक्षाकै लागि भनेर व्यक्तिगत रूपमा हतियार राख्नुपर्ने अवस्था आउन दिनै हुदैन्। व्यक्तिको सुरक्षा राज्यले दिने हो।’ उनले व्यक्तिगत हतियार राख्ने प्रवृत्ति कम गर्दै लैजान सुझाव दिएका थिए।

सांसद पन्तले मधेसको सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राख्न समेत सुझाव दिए। उनले मधेसमा विभिन्न किसिमले असुरक्षा बढेकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको उल्लेख गरे।

‘तराईका विभिन्न जिल्लामा दशगजा क्षेत्र र हाम्रो सिमाना अतिक्रमण भएको छ। त्यो हुनु भएन’, उनले भने। 

गृहमन्त्री लामिछानेले यतिबेला बैठकमा उपस्थित भएर समिति सदस्यहरूको सुझाव, जिज्ञासा र प्रश्नहरू सुनिरहेका छन्। 

प्रकाशित: १४ चैत्र २०८० १२:२१ बुधबार

एमालेका सांसद रघुजी पन्त