राजनीति

‘कमजोर स्वास्थ्य’ले महरालाई मुक्ति!

गत सोमबार सिआइबीको नियन्त्रणमा कृष्णबहादुर महरा। फाइल तस्बिर: नागरिक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ई–सिगरेट (विद्युतीय चुरोट) मार्फत तस्करी गरी ल्याइएको सुनबारे अनुसन्धानका लागि पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कानुनी रूपमा दोषी नदेखिने गरी उन्मुक्ति दिन खोजिएको छ।

‘कमजोर स्वास्थ्य’ अवस्थालाई देखाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महरालाई दोस्रोपटक अनुसन्धानका लागि समय नै नलिई सरकारी वकिल कार्यालयबाटै थुनामुक्त गरी कानुनी रूपमा उन्मुक्ति दिन खोजेको हो। हिरासतबाहिरै राखेर अनुसन्धान गर्न मिल्ने अवस्थामा छाड्न सकिने मुलुकी फौजदारी संहिताको आधारमाथि टेकेर सरकारी वकिलको रोहबरमा सिआइबीले पक्राउ परेको पाँच दिनमै हाजिर जमानीमा शुक्रबार उनलाई हिरासतमुक्त गरेको हो। पाँच दिनअघि भारततर्फ भाग्न लागेको भन्दै रोल्पा हिँडेको अवस्थामा  महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको थियो।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गत असोजमा गठित आयोगले तस्करीमा माओवादी केन्द्रका नेताहरूको ‘कनेक्सन’ रहेको र महरालाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको थियो।

सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले अदालतले पनि स्वास्थ्योपचार जरुरी रहेको आदेश दिएको र हिरासतबाहिर राखेर पनि अनुसन्धान गर्न सकिने कानुनी प्रावधानमाथि टेकेर हाजिर जमानीमा महरालाई छाडेको बताए।

‘अहिले उहाँको बयान सकिएको छ। भएका प्रमाण नष्ट गर्न सक्ने आधारहरू छैनन्। बाहिर राखेर थप अनुसन्धान अघि बढाउने निर्णय भएको छ। अदालतले पनि उपचारको आवश्यकता रहेको जनाएको थियो,’ सिआइबीका प्रवक्ता एसपी बोगटीले भने, ‘तत्काल भागेर जाने अवस्था पनि देखि“दैन। अनुसन्धान अधिकृतले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न मिल्ने अवस्थामा छाड्न सक्ने मुलुकी फौजदारी संहिताका आधारका सरकारी वकिलको रोहबरमा हाजिर जमानीमा छाडिएको हो।’

महरा पक्राउ परेपछि यसलाई ठुलै उपलब्धि ठानेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यो विषयमा आफ्नो धारणा भने सार्वजनिक गरेका छैनन्।

२०७९ पुसमा बरामद ई–सिगरेट (भेप) मा ल्याइएको तस्करीको सुन र गत साउनमा बरामद ६१ किलो तस्करीको सुनबारे छानबिन गर्न सरकारले उच्च अदालतका न्यायाधीश आचार्यको अध्यक्षतामा आयोग बनाएको थियो। गत साउनमा हङकङबाट ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन विमानस्थलबाट भन्सार पास भई बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो। सुनसहितको भेप भने विमानस्थल भन्सार कार्यालयले बरामद गरिराखेको अवस्थामा चोरी भएको थियो।

२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ ली हानसोङले लगेजमा राखी भेपभित्र करिब नौ किलोजति सुन लुकाएर ल्याएका थिए। विमानस्थल भन्सार कार्यालयले बरामद गरिराखेको अवस्थामा उक्त भेप गायब पारिएको थियो। त्यही भेपमार्फत ल्याइएको सुन छाड्न महरा र उनका छोरा राहुल महराले ताकेता गरेको सिआइबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो। सोही प्रतिवेदनलाई आधार मान्दै यसअघि सिआइबीले राहुल महरालाई पक्राउ गर्दा बाबु कृष्णबहादुर महरासँग पनि बयान लिएको थियो। त्यस क्रममा उनले चिनियाँ नागरिकले सुन ल्याएको भन्ने जानकारी नभएको र तस्करीको सुन छाड्न कुनै पनि प्रकारको दबाब नदिएको भन्दै सिआइबीको बयानमा अस्वीकार गरेका थिए। अहिले पनि सोही प्रकारको बयान दिएको सिआइबीले जनाएको छ। ‘टेलिफोन सम्पर्क मात्रै देखिएको छ। त्योभन्दा अरू प्रमाण भेटिएको छैन,’ सिआइबीका एक अधिकृतले भने।

महराले सिआइबीसँगको बयानमा आफू टिबी, युरिक एसिड र प्रोस्टेटको बिरामी भएकाले नियमित औषधि सेवन गरिरहेको उल्लेख गरेका छन्। उपचारका लागि भन्दै महरा नर्भिक अस्पताल भर्ना भएका थिए। उनलाई अस्पतालबाटै सरकारी वकिल कार्यालयमा ल्याएर बयान लिइएको थियो। सिआइबीले उनीसँग दुई दिन बयान लिएको थियो। सरकारी वकिलको कार्यालयमा बयान सुरु गरेपछि उनले बिरामी रहेको बताएका थिए।

बयानका क्रममा उनले चिनियाँ दावाजिन वाङसँग चिनजान रहेको तर आफूले कहिल्यै पनि तस्करीबारे कुराकानी नगरेको दाबी गरेका थिए। उनले यस्तै कुरा यसअघि सिआइबी र सुन आयोगलाई दिएको बयानमा समेत उल्लेख गरेका थिए। बयानका क्रममा उनले आफूले चिनियाँ नागरिक दावाजिनलाई फलफूल व्यवसायीका रूपमा मात्र चिनेको दाबी गरेका छन्।

हाइड्रोपावर परियोजनाका कर्मचारीका लागि ल्याइएको भेप जफत भएको भन्दै वाङले खबर गरेपछि आफूले तत्कालीन भन्सार प्रमुख प्रशासकलाई फोन गरेर बुझेको उनले बताएका थिए। ‘कानुनबमोजिम के गर्न मिल्छ, हेरिदिनुहोला भनेर मात्र भनेको हुँ,’ महराले अहिलेको बयानमा भनेका छन्, ‘वाङसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गथ्र्यो। सुनबारे निजसँग कुरै कुराकानी भएको थिएन।’

यो कुरा यसअघिको बयानमा पनि उनले उल्लेख गरेका थिए। सिआइबीले भेप प्रकरणमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर विमानस्थल भन्सार कार्यालयमा रहेको भेप लिलामी गर्न दबाब दिएको खुल्न आएको उल्लेख छ। सिआइबी प्रतिवेदनमा महराका बाबुछोरा, भेपमा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक ली र अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित राखिएको छ।

महरा बाबुछोराले भन्सारका कर्मचारीलाई फोन गरेर ‘ली आफ्नो व्यापारिक साथी भएकाले सके भेप छाडिदिन नभए लिलामीमा राखिदिन’ आग्रह गरेका थिए। महरा बाबुछोराले लीले बुढीगण्डकी जलविद्युत् आयोजनामा काम गर्ने मजदुरका लागि भेप ल्याएकाले छाडिदिन दबाब दिएका थिए। सिआइबीले अनुसन्धानका क्रममा ‘कल डिटेल’ हेर्दा सुन तस्करसँग महरा बाबुछोराको कनेक्सन देखिएको र उनीहरूले भन्सार प्रमुखलाई दबाब दिएको खुल्न आएको थियो। राहुल महराले भन्सार कार्यालयका कर्मचारीलाई फोन गरी ‘सके भेप छाडिदिन नसके लिलामीमा राखिदिन’ भनेको बयान सिआइबीलाई दिएका थिए।

उनले ली चिनेजानेका मानिस भएका कारण भन्सारका कर्मचारीलाई छाडिदिन फोन गरेको तर उनको धन्दा के थियो भन्नेबारे आफू जानकार नभएको बताएका थिए। भेप प्रकरणमा चिनियाँ नागरिक दावाजिङ वाङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरालगायतले सम्पर्क सूत्रको काम गरेका थिए। भेपमा शंका लागेपछि विमानस्थल भन्सारले बरामद गरी लीलाई छाडेको थियो। भन्सारले छाडेपछि भेप छुटाउन लीले महरा बाबुछोरालगायतसँग सम्पर्क गरेका थिए।

बरामद भेपभित्रको करिब नौ किलो सुन भन्सार कार्यालयको स्टोरमा कार्यरत नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत र सुरक्षा गार्डसमेत मिलेर करिब ६ करोड रूपैयाँमा बिक्री गरेको पनि अनुसन्धानबाट खुल्न आएको थियो। उक्त सुन बेच्ने योजनाकार भन्सार एजेन्ट बस्नेत रहेको सिआइबी अनुसन्धानबाट खुलेको थियो। उनले विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा खड्कासँग मिलेर करिब नौ किलो सुन चोरी गरी बेचेका थिए। त्यो सुन चोरेर बेच्नुुअघि नै उनीहरूले महरा बाबुछोरालाई भन्न लगाएर लिलामीमा राख्ने कोसिस गरेका थिए। भेप फिर्ता गर्ने र लिलामीमा राख्ने दुवै प्रयास सफल नभएपछि त्यसभित्रको सुन झिकेर बेचिएको थियो।

प्रकाशित: १० चैत्र २०८० ०६:०५ शनिबार

कमजोर स्वास्थ्य महरालाई मुक्ति