राजनीति

‘विचार मिल्नेहरूसँग गठबन्धन भएको छ’

क्याप्शन

नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको नवौं जिल्ला अधिवेशन बिहीबारदेखि सिटी हलमा सुरु भएको छ। अधिवेशनको पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गरेका छन्। उद्घाटन सत्रपछि हुने बन्द सत्रमा राजनीतिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने समय तालिका रहेको छ। त्यसपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने जनाइएको छ।

विगतमा विचार नमिल्नेहरूको गठबन्धन भएको तर अहिले विचार मिल्नेहरूको भएको एमालेका महासचिव पोखरेलले बताए। जनताको आशा जोगाउन गठबन्धन भत्काउनु परेको पोखरेलले बताए। सुशासनमा जनताले अहिलेको गठबन्धनले गरेका कामबाट महसुस गरिसकेको उनको भनाइ थियो।  

एमाले सुर्खेतको अध्यक्षका लागि धेरै नेता आकांक्षी देखिएका छन्। अध्यक्षलगायत पदहरूमा मतदान हुने देखिन्छ। नेतृत्वसहित सबै पदमा सहमति गर्ने, नभएमा चुनावी प्रक्रियाबाट चयन हुने प्रचारप्रसार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले बताए।

एमाले नेताहरू यामलाल कँडेल, नवराज रावत र गोरख बोगटीनिकटहरू अध्यक्षमा आंकाक्षी रहेका छन्। कँडेल दैलेख जिल्ला इन्चार्ज तथा संसदीय दलका नेता हुन् भने रावत केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज रहेका छन्।

त्यस्तै बोगटी सुर्खेत जिल्ला इन्चार्ज रहेका छन्। स्रोतका अनुसार कँडेल समूहबाट कुलमणि देवकोटा र कविन्द्र केसी देखिएका छन् भने बोगटी र रावतको समूहबाट अमृतबहादुर बिसी र दण्डीप्रसाद शर्मा देखिएका छन्। यस्तै, नेकपा एकीकृत समाजवादी परित्याग गरेर एमालेमा फर्किएका मोहन बडुवालले पनि अध्यक्षको आकांक्षा राखेको बुझिएको छ।

प्रकाशित: ९ चैत्र २०८० ०८:४२ शुक्रबार

नेकपा एमाले जिल्ला कमिटी सुर्खेत नवौं जिल्ला अधिवेशन