राजनीति

अर्थमन्त्रीलाई सांसद ज्वालाको सुझावः बजेट निर्माणमा सांसदहरुको भरोसा गर्नुस्

फाइल तस्बिर

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भरोसा गर्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन्।  

सांसद ज्वालाले विज्ञ भनेपनि, सल्लाहकार भनेपनि, अनुभवी व्यक्ति भनेपनि जनतासँग जोडिएको व्यक्ति सांसदहरु भएकाले उनीहरुलाई भरोसा गरेर सरकारले बजेट ल्याउनुपर्ने बताएका हुन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले योजना निर्माणमा पनि सांसदहरुको सुझावलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद ज्वालाले सरकारले मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र समृद्धिको चाहनालाई तीव्रता दिनेगरी बजेट ल्याउने अपेक्षा समेत गरे ।  

उनले भने, ‘साँच्चीकै अर्थतन्त्रलाई उठाउने र मुलुकको समृद्धिलाई तीव्रता दिने गरी बजेट आउनुपर्छ भन्ने मेरो सुझाव छ। यहीँ रोष्टममा उभिएर सम्माननीय प्रधानमन्त्रीज्यूले बजेट प्रणालीमा ठूलो चेन्ज ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्। कुराले चिउरा भिज्दैन भन्ने नेपाली उखान छ । अब यस पटक बजेटले परम्परा तोडने छ। र, बजेटमा नयाँ ब्रेक थ्रू हुनेछ, भन्ने कुरामा पनि विश्वास राख्न चाहन्छु। बजेट निर्माण प्रक्रियामा पनि समावेशी, जवाफदेही र पारदर्शी हुुनुपर्छ। बजेट निर्माण प्रक्रिया एकदमै अपारदर्शी छ। एकदम लुकाएर बजेट बनाउने, मन्त्रीहरुले पनि बजेट थाहा नपाउने गरी बजेट बनाउने अवस्था अन्त्य हुनुपर्छ। अर्थमन्त्रीसँग मेरो विशेष अनुरोध छ–बजेट निर्माणमा सांसदहरुलाई भरोसा गर्नुहोस्।’

प्रकाशित: ७ चैत्र २०८० १४:०६ बुधबार

(एकीकृत समाजवादी प्रकाश ज्वाला सांसद अर्थमन्त्री वर्षमान पुन