राजनीति

बिम्स्टेक र सार्क सँगै अगाडि बढाउन माग

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले बिम्स्टेक र सार्क दुवै विकासका लागि आवश्यक भएको भन्दै एकले अर्कोलाई ओझेलमा पार्ने गरी काम गर्न नहुने सुझाव दिएका छन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) वडापत्रमाथिको छलफलका क्रममा सांसदले बिमस्टेकलाई मात्र नभई दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क)लाई पनि सँगसँगै अगाडि बढाउन सकेमात्र हामीले विकासको गति अघि बढाउन सक्ने धारणा राखेका थिए।

एमालेका सचिव सांसद योगेश भट्टराईले सार्कको विकल्पको रूपमा बिम्स्टेक अगाडि बढाउने नभई सार्कको सम्मेलन पनि छिट्टै गर्नुपर्ने बताए। बिम्स्टेकको मञ्चबाट नेपालले अझै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभाव बढाउनुपर्ने र लाभ लिनुपर्ने उनले बताए। तर सार्कको विकल्पको रूपमा हामीले बिम्स्टेकलाई मात्र अघि बढाउन नहुने उनको भनाइ थियो।

एमालेका नेता रघुजी पन्तले पनि बिम्स्टेकलाई अघि बढाउँदा सार्कलाई पनि अघि बढाउनुपर्ने तर्क गरे। उनले बिम्स्टेकमा पाकिस्तान सदस्य छैन, तर सार्कमा सदस्य राष्ट्र छ भन्दै पाकिस्तान सदस्य भएको सार्कलाई पनि सँगै लैजानु अहिलेको आवश्यकता रहेको तर्क गरे।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्क आन्दोलनलाई ओझेलमा पार्न नहुने बताउँदै बिम्स्टेकलाई भन्दा सार्कलाई बढी महत्त्व दिनुपर्ने बताए। कांग्रेसका प्रदीप पौडेलले बिम्स्टेकलगायतका संगठनहरूबाट नेपालले लाभ लिन नसकेको बताए। 

प्रकाशित: ६ चैत्र २०८० ०८:५९ मंगलबार

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रतिनिधिसभा बंगालको खाडीको प्रयास (बिम्स्टेक)