राजनीति

बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति स्वीकार्य छैन: अर्थमन्त्री पुन

फाइल तस्बिर।

अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘बैंकहरुको ऋण लिने, कालोसूचीमा पर्ने र तिर्दिन भन्ने प्रवृत्ति आपराधिक प्रवृत्ति हो।’

उनले व्यवस्थामाथि प्रश्न उठाउने, व्यवस्था नै मन परेन भनेर व्यवस्थाका सानातिना कमजोरी, राजनीतिक प्रणालीका सानातिना कमजोरी खोतलेर त्यसलाई नै सबै पक्ष जस्तो बनाएर समाजमा एउटा व्यवस्था र नेतृत्वप्रति अनास्था पैदा गर्ने प्रवृत्तिसँग पनि आफूहरुको समर्थन नरहने उल्लेख गरे। 

धार्मिक, सामाजिक अतिवाद, मिलेर रहेको समाजलाई विखण्डन गर्ने प्रवृत्तिहरू, आफ्ना केही स्वार्थहरू पूरा गर्ने, आफ्ना महत्वकांक्षाहरु अगाडि ल्याउने प्रवृत्तिसँग पनि सरकारले सहमति नगर्ने उनको भनाइ थियो। ‘काम नगर्ने र सजिलै धनी बन्न खोज्ने प्रवृत्तिहरुसँग सरकारले सहमति गर्न सक्दैन’ उनले भने।

मन्त्री पुनले राज्य प्रणालीमा भएको कमीको समीक्षा गर्न आफूहरू तयार रहेको सुनाए।  आफू अर्थमन्त्री रहँदासम्म जनतामा आशा जगाउने काम गर्ने उनले बताए।

प्रकाशित: ३ चैत्र २०८० १५:५६ शनिबार