राजनीति

सहकारी प्रकरणमा रविमाथिको प्रमाण देखाउन श्रममन्त्री आर्यालको चुनौती

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति निराधार अरोप लगाइएको बताएका छन्।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सहकारी सम्बन्धी केही प्रश्नहरु गृहमन्त्रीप्रति उठाइएको भन्दै आधार देखाउन आग्रह गरे। उनले सत्ता पक्षमा रहँदा सबै ठिक र विपक्षमा रहँदा सबै बेठिक भन्नेकुरा राम्रो नरहेको बताए। पार्टी सभापति लामिछानेमाथि कुनै आरोप र उजुरी नपरेको उनको दाबी छ।

उनले भने, ‘हाम्रो पार्टी सभापति र उपप्रधान एवं गृहमन्त्रीज्युप्रति जे प्रश्न गरिएको छ, प्रश्न गर्नुभन्दा अघि केही आधार हुनुपर्छ। निराधार प्रश्न गर्न त पाइन्छ। साथीहरुले सहकारी सम्बन्धी केही प्रश्न उठाउनुभएको छ। रवि लामिछाने कुनै सहकारीमा सदस्य छैन भन्ने उहाँहरुलाई थाहा छ। कम सेकम त्यति त हेर्नुपर्ला। हिजो सत्ता पक्ष हुँदै गर्दा सबै ठिक प्रतिपक्षमा जाने बित्तिकै सबै बेठिक भन्ने त भएन नि। हाम्रो पार्टी सभापतिलाई आरोप चाहीँ कहाँ लागेको छ । कसले लगाएको छ? राजीनामा दिनुपर्ने कारण त होला नि। मन्त्रीहरुले राजीनामा माग्ने बित्तिकै त दिनुपर्ने होइन नि। केही आधार भए हामी त राजीनामा आफैँ दिन्छाैं।’

उनले कुनै राजनीतिक दलका नेताहरुले राजीनामा माग्दैमा दिनु नपर्ने भन्दै प्रमाण भेटिए र दोषी भए आफैँ राजीनामा दिने बताए। 

प्रकाशित: २ चैत्र २०८० १७:५३ शुक्रबार

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल