राजनीति

गृहमन्त्रीलाई कांग्रेसको प्रहार, तत्काल जवाफ दिन प्रधानमन्त्रीलाई चेतावनी

नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधि सभा बैठकको सुरुवातमै गृहमन्त्री रवि लामिछानेलाई प्रहार गरेको छ।

बैठक सुरु हुने बित्तिकै आ–आफ्नो सिटमा उभिएका कांग्रेसका सांसदहरूले बोल्नका लागि आकस्मिक समय दिन सभामुख देवराज घिमिरेलाई बाध्य पारेका थिए।

शून्य समय सुरु हुनै लाग्दा कांग्रेसका सांसदहरूले बिराेध गरेपछि सभामुख घिमिरेले नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डे संक्षिप्तमा आफ्नो भनाई राख्न समय दिए।

पाण्डेले बिहीबार संघीय राजधानीमा सहकारी पीडितहरूले पाँच ठाउँबाट विरोध प्रदर्शन गर्न लागेको उल्लेख गर्दै सहकारी पीडितहरूको समस्या समाधानका लागि अनुसन्धानको कमान्ड सम्हाल्नु पर्ने निकायका कमान्डर गृहमन्त्री नै अनुसन्धानको घेरामा रहेको उल्लेख गरे।

‘अनुसन्धानको कमान्ड सम्हाल्नु पर्ने निकायका कमान्डर गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशङ्का बढाएको छ’, उनले भने।

सांसद पाण्डेले थपे, ‘सहकारीको आदर्श विपरीत गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, सेयर सदस्य नभएका व्यक्तिलाई ऋण प्रवाहको सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृति का अन्य दोषीलाई कसरी कानुनी कारबाहीको दायरमा ल्याउनुहुन्छ?’

उनले गृहमन्त्री रवि लामिछानेलाई सत्ता साझेदार दलका नेताहरूबाट सजक रहन पनि सुझाव दिए। ‘कतै तपाईँको पोजिशनलाई रक्षाकवज बनाएर एक/दुई करोडको अभियोग मात्र लागेका तपाईलाई शिखण्डीको भूमिकामा अगाडी सारेर दसौँ अर्बको ठगी गर्ने ठुला माछाहरू उम्काउने प्रपञ्चको जानी नजानी तपाई हतियार त बनिरहनु भएको छैन, रवि लामिछानेलाई सुझाव दिनु मेरो मित्रवत् कर्तव्य नै ठान्दछु’, सांसद पाण्डेले भने।

उनले प्रतिपक्षको गम्भीर र जायज प्रश्नको जवाफ प्रधानमन्त्रीले तत्काल दिनुपर्ने र यसका लागि सभामुखले रुलिङ गर्नुपर्ने माग पनि राखे। ‘दूधको दूध पानीको पानी छुट्टाएर पीडितहरूलाई न्याय दिने अभिभारा र विवादास्पद नियुक्तीबारे प्रधानमन्त्रीले तत्काल जवाफ दिनुपर्छ’, पाण्डेले भने, ‘हाम्रा प्रश्नलाई कमजोर नठानियोस् र प्रधानमन्त्रीको यथाशीघ्र जवाफ हामीलाई चाहिन्छ। जवाफ आएन भने आगामी दिनमा कठोरता पूर्वक उपस्थित हुनुपर्ने स्थिति सिर्जना नहोस्।’

प्रकाशित: १ चैत्र २०८० ११:५२ बिहीबार

नेपाली कांग्रेस प्रतिनिधि सभा बैठक गृहमन्त्री रवि लामिछाने देवराज घिमिरे बद्रीप्रसाद पाण्डे