राजनीति

काँग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र मिलेन: सांसद यादव

नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले काँग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र नमिलेको बताएका छन्।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेससँगको गठबन्धन अप्राकृतिक रहेको बताए। काँग्रेससँग माओवादीले गठबन्धन गर्दा चुनावमा २० सिट माओवादीलाई कम परेको बताए। उनले नेपाली काँग्रेस अहिले पनि यथास्थितिवादी पार्टी भएको बताए। वैचारिक र सैद्धान्तिक रुपमा अग्रगामी पार्टी माओवादी  केन्द्र रहेको बताए।

उनले भने, ‘मंसिर ४ गतेको कुरा गर्नुभयो। त्यतिबेला गठबन्धन बन्दा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को बीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणापत्र थियो? एउटा विश्वासको भरमा त्यो चुनामा माओवादी सहभागी हुँदा विगतको भन्दा २० सिट कम माओवादीलाई भएको छ। नेकपा माओवादी केन्द्रसँग उहाँहरुले जुन गठबन्धन बनाउने प्रयास गर्नुभयो त्यसबाट पनि माओवादीलाई धोका भएको छ। वैचारिक र सैद्धान्तिक रुपमा अग्रगामी पार्टी माओवादी र नेपाली काँग्रेस अहिले पनि यथास्थितिवादी पार्टी हो। उहाँहरुको अहिले पनि गतिविधिले यथास्थितिबाट मुलुकलाई परिवर्तनतिर तयार छैन। विगतको गठबन्धन भनेको अप्राकृतिक थियो। अहिलेको गठबन्धन वैद्धारिक र सैद्धान्तिक हिसावले देशको आवश्यकताको हो। जनताका मुद्दा सम्बोधन गर्न यसको औचित्य छ। नेपाली काँग्रेससँग यो गठबन्धनको गोत्रै मिल्दैन। मिलेको पनि थिएन। अहिले गोत्र मिलेको छ। यो प्राकृतिक गोत्र हो। यसले मुलुकलाई हित गर्छ।’

प्रकाशित: ३० फाल्गुन २०८० १३:४० बुधबार

सांसद महिन्द्र राय यादव