राजनीति

रेशमको दुखेसोः दु:ख दैबले मेरो थाप्लोमा थुपारेरै पठाएको हो

नागरिक उन्मुक्ति पार्टी पछिल्लो समय निकै चर्चामा आएको छ। पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ र उनका श्रीमान रेशम चौधरीबीच कुरा नमिलेको विषयले अहिले निकै चर्चा पाइरहेको छ।

वर्तमान सरकारमा सहभागी हुने वा नहुने विषयलाई लिएर श्रीमान् श्रीमतीबीच बल्झेको विवाद अहिले सतहमा आएको छ। श्रीमान् श्रीमतीबीचको विवादलाई केन्द्र बनाएर सञ्चार माध्यममा पनि समाचार र अन्य टिकाटिप्पणी हुन थालेपछि चौधरीले श्रीमतीलाई आफूले सम्झाउन नसक्नु आफ्नो हार नभएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा चौधरीले शिर्षकसहित नै आफ्ना कुरा राखेका छन्।

उनी लेख्छन्, ‘विषय जित हारको होइन, आज जिते प्रचण्ड, ओली जित्लान्। भोलि फेरी देउवा जित्लान्। सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो। त्यसैले हामी कसैका पछाडी नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ।’

उनले अघि लेखेका छन्, ‘सन्दर्भः घर झगडा हुँदै होइन, विषय राजनैतिक हो। मैले जानेको बुझेको यहि हो। जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो।

आज पनि हेर्नुस्, एमाले, माओवादी, कांग्रेस। यी ठूला दलका नेता, कार्यकर्ता सांसद कतै चलमलाएका छन् र? तर एकीकृत समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपा जस्ता साना दलमा कत्रो भुँईचालो गएको छ। त्यसैले कुरा बुझौं, कुनैपनि गठबन्धनका पछाडी नलागौँ।’

नागरिक उन्मुक्ति पार्टी कांग्रेस कम्युनिस्ट होइन,भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयताका लागि समुदायमा आधारित समाजबाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो भन्दै उनले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरी आफ्नो नीति सिद्धान्त अनुरुप चल्न पनि भनेका छन्।

उनले लेखेका छन्, ‘कुरो रह्यो बुढाबुढिको। म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भैइनन्। उनको भनाइ छ–प्रचण्डले हाम्रो राजबन्दि रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न।’

चौधरी लेख्छन्, ‘अरे लाटी, टिकापुर घटना पछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि। अहिलेपनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन् ,दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौँ र तिमी पनि मन्त्री भएकि हौ। नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामिले केही उख्ल्नेवाला छैनौँ। जताबाट पनि भलो ठुलै दलको हुने हो,हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो।’

उनले अघि लेखेका छन्ः

‘मैले तिमिलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन। आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न। आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन्। मलाई भोट हाल्, मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउने वाला मात्रै हुन्। मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टण्टै साफ।

हो, जेलमा मैले लेखेको विधानले आज पार्टी चलेको छ। तर मैले सबैको सदुपयोगीका लागि विधान लेखेको हुँ,दुरुपयोगका लागि होइन। अहिले विधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ। सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन विधान भन्दा माथी हुन्छ। सत्ता को सदुपयोग या दुरुपयोग क्षणिक हो तर जनता जनार्दन हुन्। यसका बारेमा अदालतले केहिदिनमा अवस्य न्याय देला।

तर याद रहोस्, केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कार्वाही गर्नुपर्छ र कार्वाही भोग्नुपर्छ। सबैलाई लागेको होला, केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ। यो सोच्दै हुनुहुन्छ भने तपाई भ्रममा हुनुहुन्छ। उहिले भन्न सक्दिन अहिले केन्द्रीय समितिले स्वतन्त्र भै निर्णय गरेको हो। अब हरेक निर्णय यसरी नै स्वतन्त्र भै गर्नुपर्छ।

मेरा कारण लाखौं जनताको मन दुखेको मलाई अनुभुत भएको छ, त्यसकारण म क्षमा चाहन्छुँ तर पहिचानको आन्दोलनको सिपाही हुँ। कहिल्यै हार मान्नेवाला छैन। म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ। रन्जितालाई सम्झाउन नसक्नु मेरो विवसता हो, हार होईन।

मान्नैपर्छ, दुख दैबले मेरो थाप्लोमा थुपारेरै पठाएको हो।’

प्रकाशित: ३० फाल्गुन २०८० ०८:५६ बुधबार

नागरिक उन्मुक्ति पार्टी रञ्जीता श्रेष्ठ रेशम चौधरी वर्तमान सरकार ओली प्रचण्ड सरकार निर्माण माओवादी