राजनीति

राजनीतिक रणनीति तर्जुमामा व्यस्त छन् अध्यक्ष ओली र प्रधानमन्त्री दाहाल

फाइल तस्बिर

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा सत्ता साझेदार दलका नेताहरूबिचको भेटघाट बाक्लिँदै गएको छ।

सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालबीच सोमबार बिहान फेरी पनि भेटघाट भयो।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा २९ गते (भोली) हुदैछ भने प्रधानमन्त्री दाहालले यही बुधवार संसद्मा विश्वासको मत लिने कार्यक्रम लगभग निश्चित छ। यी दुई एजेन्डाबाहेक सरकारको प्रभावकारिता कसरी बढाउने विषयमा पनि यी नेताहरुबीच छलफल भइरहेको बुझिएको छ।

यी नेताबीच मन्त्रालयहरूको भागबन्डा, नयाँ गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम तर्जुमा, राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने र प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्नका लागि आवश्यक रणनीति बनाउने विषयमा छलफल भएको सचिवालय स्रोतले जानकारी दिएको छ। पछिल्लो छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो।

राष्ट्रिय सभा अध्यक्षका निम्ति सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल उम्मेदवार छन् भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा उम्मेदवार बनाइएको छ।

नेपाली कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई लिखित ह्ीप जारी गरिसकेको छ।

नयाँ गठबन्धन बने देखिनै यी दुई नेताहरूको भेटघाट बाक्लिँदै गएको छ। त्यसो त नयाँ गठबन्धनको आयुलाई लिएर विभिन्न टिका टिप्पणी भइरहेका छन्।

प्रकाशित: २८ फाल्गुन २०८० १४:०६ सोमबार

अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय सभा प्रधानमन्त्री पुष्पकमल दाहाल