राजनीति

क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग नजोड्दा जनतामा वितृष्णा : विप्लव

हिमाको हाडुल्लेमा स्याउ रोप्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’। तस्बिर : नागरिक।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न नसक्दा जनतामा वितृष्णा र विचलन आएको बताए। उनले भने, ‘यसलाई चिर्न नेकपाले नवौँ महाधिवेशनबाट आत्मनिर्भर अर्थतन्त्रको नीति अगाडि बढाएको हो।’

चन्दले भने, ‘उत्पादन वृद्धिबाट मात्रै समाज र राष्ट्रको उन्नति सम्भव छ। त्यसैलाई मध्यनजर गरी उर्वर जुम्लाको बाँझो भूमिलाई उपभोग गर्न र स्याउमार्फत समृद्धि हासिल गर्न खेती गर्न लागिएको हो।’

किसानलाई उत्पादनमा प्रेरित गर्ने र आयात घटाई आत्मनिर्भर देश बनाउने उदेश्य सहित जुम्लामा स्याउ खेतीको सुरुवात गरिएको विप्लवले बताए। उनका अनुसार पार्टीको केन्द्रीय उत्पादन निति रहेको छ।

पार्टीलाई तीन वर्षभित्र चन्दामुक्त बनाउने लक्ष्य छ। जुम्लाको हिमा गाउँपालिका–७, हाडुल्लेस्थित पार्टीका केन्द्रीय सदस्य बिर्खबहादुर शाहीको बाँझो जग्गामा शुक्रबारदेखि टोलीले बृहत् स्याउ खेती सुरुवात गरेको हो।

‘विप्लव’ को नेतृत्वमा पार्टीका दर्जन नेता, कार्यकर्ताको टोली जुम्लाको हिमा गाउँपालिकाको धाचुगाउँ पुगेको थियोे। नेकपा पार्टीका केन्द्रीय सदस्य बिर्खबहादुर शाहीका अनुसार हाडुल्लेको २२ हजार वर्गमिटर क्षेत्रफलमा १० हजार स्याउका बिरुवा रोप्ने अभियान सुरु गरिएको हो।

जुम्लामा पहिलो चरणमा एक हजार पाँच सय स्याउका बिरुवा रोपिने उनले बताए। कृषि विकास कार्यालयका कृषि प्राविधिक पदमबहादुर रोकायाको पनि सहभागी थिए। उनका अनुसार कृषि विकास कार्यालय र स्याउ सुपरजोन कार्यालय विरुवा सहयोग गरेको हो।

स्थानीय जातका बिरुवा लगाइएको प्राविधिक रोकायाले बताए। उत्पादन वृद्धि नभई मुलुक र जनताको समृद्धि सम्भव नहुनेमा विश्वास राख्दै विप्लवले कृषि क्रान्तिको यात्रालाई कर्णालीको जुम्लामा पुर्‍याएको बताए।

यसअघि मुगु जिल्लाको सोबामा पाँच सय बिरुवा लगाइएको थियो। भोलि कालीकोटको फोइमहादेवमा पाँच सय स्याउका बिरुवा लाइने छ। महासचिव चन्दले भने, ‘उर्वर बाँझो जग्गालाई उपभोग गरिने छ।’

तीनै तहका सरकारले उत्पादनशील क्षेत्रमा लगानी गर्न नसकेको उनको ठम्याइ छ। नेताहरुमा श्रम गर्ने पद्धतिको विकास हुन सके मात्र जनता उत्साहित हुन’का साथै आत्मनिर्भर खेतीतर्फ उन्मुख हुने अर्का केन्द्रीय सदस्य भरत बमको बुझाइ छ।

नेकपाले तराईमा धान, तोरी तरकारी, पहाडमा फलफूल र हिमालमा फलफूल तथा जडीबुटी उत्पादन अभियानमा रहेको नेकपाका केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए।

कार्यक्रममा सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले विप्लवले जुम्लामा स्याउ लगाउने योजना बनाएर आत्मनिर्भर अर्थतन्त्रको कुरा उठाउनु सकारात्मक भएको भन्दै यो नेकपा मात्र नभएर हामी सबैको योजना हुनुपर्ने बताए।

प्रकाशित: २६ फाल्गुन २०८० १२:३९ शनिबार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव क्रान्ति उत्पादन अर्थतन्त्र समाज र राष्ट्रको उन्नति