राजनीति

गण्डकी प्रदेशसभाको चालु अधिवेशन हठात अन्त्य

गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ। गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको अधिवेशन शुक्रबार राती १२ बजेदेखि लागु हुने गरी अन्त्य गरेका हुन्।

चालु अधिवेशन हठात रुपमा अन्त्य गरिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ। प्रदेश प्रमुखको कार्यालयकी अधिकृत प्रमिला गौतमले प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेको जनाएकी छन्।

यसअघि प्रदेशको मन्त्रीपरिषद्को आकस्मिक रुपमा बसेको बैठकले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। सो निर्णय अनुसार अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेअनुसार अधिवेशन अन्त्य भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

हठात रुपमा अधिवेशन अन्त्य हुनुमा संक्रमणकालीन राजनीतिलाई हेरिएको छ। केन्द्रमा गठबन्धन बदलिएसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका २ मन्त्रीलाई बर्खास्त गरेका थिए।

लगत्तै माओवादी केन्द्रले पाण्डे नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। योसँगै पाण्डे सरकार अल्पमतमा परेको छ। यही कारण गण्डकी सरकारले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हुनसक्ने विश्लेषण गरिएको छ।

प्रकाशित: २४ फाल्गुन २०८० १७:३० बिहीबार

गण्डकी प्रदेश सभा