राजनीति

बुद्धकाे शिक्षा विश्वभर फैलाउन अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्न पहल गर्नेछु: गृहमन्त्री श्रेष्ठ

लुम्बिनीमा तेस्रो त्रिपिटक वाचन सुरु

बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबारदेखि अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक कार्यक्रमकाबिच त्रिपिटक वाचन कार्यक्रमको उद्घाटन गरे।

त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो। गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो। अपि धर्म शत्रु पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई त्रिपिटक भनिन्छ। सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संग्रहित छ।

अखिल नेपाल भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सह आयोजनामा  मायादेवी मन्दिर परिसरमा आइतबारदेखि तिन दिने त्रिपिटक वाचन सुरु भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले बुद्धको शिक्षालाई आधुनिक विज्ञानले समेत आत्मसाथ गरेको बताए । बुद्धले शान्ति र मानवताको जीवनलाई अगाडि बढाउनका लागि ‘आफैलाई हेर र फेर’ भन्ने शिक्षा दिएकाले त्यसलाई आत्मसाथ गर्नुपर्ने उनले बताए।

‘बुद्धले आफ्नो बाटो आफैले हिँड्नुपर्छ भनेर भन्नुभएको छ, त्यसैले आधुनिक विज्ञानले पनि बुद्धको शिक्षालाई आत्मसाथ गरेको छ’ उनले भने। तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठले बुद्धको शिक्षालाई फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए। त्रिपिटक पाठ गौतमबुद्धको शिक्षाको मुख्य भण्डार भएको उनले बताए। विनय पिटक, सुत्तपिटक र अपिधम्म पिटकले अनुशासन, नियम र बुद्धका शिक्षाको सन्देशलाई बुझाउने भएकाले यसलाई सबैले बुझ्ने गरी नेपालीमा समेत प्रकाशन गर्नुपर्ने खाँचो औँल्याए। त्रिपिटक प्रकाशनका लागि सरकारका तर्फबाट आवश्यक  सहयोग गर्ने उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले प्रतिबद्धता जनाए।

बुद्धको शिक्षाको मुख्य भागका रुपमा रहेको ध्यान विधिलाई विश्वभर फैलाउन अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउनुपर्नेमा पनि उनले जोड दिए। ‘मेरो मनमा एउटा इच्छा छ, प्रधानमन्त्रीसँग पनि छलफल गरेर बुद्धको मेन टिचिङ जुन छ, त्यसलाई विश्वव्यापी बनाउन ‘इन्टरनेशनल मेडिटेसन डे’ का रुपमा घोषणा गर्न संयुक्त राष्ट्र सङ्घमा प्रस्ताव गर्ने पक्षमा छु’ उपप्रधानमन्त्री श्रेष्ठले भने। उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमणका क्रममा भेट हुँदा बुद्धको शिक्षाको मुख्य भागका रुपमा रहेको ध्यान विधिलाई योग दिवस जस्तै गरी अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि सघाउन अनुरोध गरेको उनले बताए। ‘कुन डे भन्ने कुरा छलफल गरौला तर मेरो ह«दयमा भएको ध्यान दिवसका बारेमा सरकारले प्रस्ताव लैजान्छ’ उनले भने।

मेडिटेसनलाई गृह मन्त्रालयले सुरुवात गरिसकेको उल्लेख गर्दै उनले सुशासन र अपराधको क्षेत्रमा काम गर्नुपर्ने दायित्व आफ्नो मन्त्रालयको भएकाले मान्छेलाई स्वरूपान्तरण गर्दै सुशासन र अपराध न्यूनीकरण गर्ने र यसका लागि ध्यान नै उपयोगी हुने बताए। अब कारागारहरूमा पनि ध्यान विधि सुरुवात गरिने उनले बताए।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धको दर्शन र विचारलाई विश्वले अंगिकार गरेकाले त्यसलाई फैलाउन त्रिपिटक वाचन कार्यक्रमले ठूलो सहयोग गर्ने बताए। उनले त्रिपिटकमा बुद्धका ज्ञान र शिक्षाहरूको संग्रह भएकाले यस्ता कार्यक्रम प्रत्येक जिल्ला र प्रदेशमा गर्नुपर्ने बताए। उपाध्यक्ष  लामाले बुद्ध दर्शन नेपालको संस्कृति र परम्परा भएपनि विश्वले अंगिकार गरेकाले यसको विकासमा लाग्नुपर्ने बताए। उनले बुद्ध दर्शनलाई विश्वले आत्मसाथ गरेकाले शान्तिको सन्देश फैलाउनका लागि सरकारले पहलकदमी गर्नुपर्ने बताए।  

उद्घाटन कार्यक्रममा चोकी निमा रिन्पोछेले बुद्ध दर्शन तर्कमा आधारित रहेकाले वैज्ञानिक रहेको बताए। अखिल नेपाल भिक्षु महासंघका संरक्षक भिक्षु बोधिसेन महास्थविर, संघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविर, सचिव निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. सुर्वणलाल बज्राचार्य, नेपालका लागि श्रीलङ्काका राजदूत, लुम्बिनी विकास कोषका पदाधिकारी, बोर्ड सदस्य, स्थानीय सरकारका प्रतिनिधिहरूको सहभागिता थियो। त्रिपिटक पाठमा छिमेकी देश भारत, श्रीलङ्का, थाइल्यान्ड तथा म्यानमारबाट समेत सहभागी भएका छन्। तीन दिने पाठमा भारतका बौद्ध तीर्थस्थल बोदगया, सारनाथ, कुशिनगर, राजगृह, श्रावस्तीबाट  भिक्षु भिक्षुणी र उपासक उपासिकाहरु आएको प्रचार प्रसार संयोजक भिक्षु बिमलोस्थविरले जानकारी दिए।

अन्तर्राष्ट्रियस्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धन गर्नका लागि बुद्ध जन्मस्थलमा तेस्रो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो। यो ग्रन्थ पाली भाषामा लेखिएको भएपनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको कोषका उपाध्यक्ष लामाले बताए।

त्रिपिटक वाचन मायादेवी मन्दिर परिसरमा गर्ने भनिए पनि दिउसो पानी परेपछि अन्तर्राष्ट्रिय बुद्धिस्ट ध्यान केन्द्रमा गरिएको छ।

प्रकाशित: २० फाल्गुन २०८० १९:०३ आइतबार

बुद्धकाे शिक्षा