राजनीति

कांग्रेसको पछिल्लो गतिविधि प्रति प्रधानमन्त्रीको असन्तुष्टि

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भरतपुर विमानस्थलमा स्वागत गरिँदै। तस्बिरः रासस

प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसको गतिविधि प्रति असन्तुष्ट देखिएका छन्।

कोशीमा भएको राष्ट्रिय सभाको निर्वाचन र नेपाली कांग्रेसको महासमिति बैठकको निर्णयलाई लिएर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका दाहाल असन्तुष्ट देखिएका हुन्।

भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसको पछिल्लो भूमिका भिन्न ढंगले अगाडि बढेको बताए।

उनले राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार समेत माओवादी केन्द्रकै रहने संकेत गरेका छन्। केन्द्रीय समितिको अत्यधिक बहुमतले राष्ट्रिय सभा अध्यक्ष छोड्न नहुने धारणा राखेको उनले बताए।

कांग्रेस नेता सिटौलालाई बचन दिनुभएको थियो होइन र ? भन्ने प्रश्नमा उनले त्यो बेला परिस्थिति भिन्न रहेको बताए।

‘संविधान निर्माण र शान्ति प्रक्रियामा खेलेको सकारात्मक भूमिकाको पृष्ठभूमिका सिटौला आए सकारात्मक ढंगले सोच्न सकिन्छ, भनेकै हो। लिखित सहमति भएको छैन’ उनले भने ‘त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रम अलि भिन्न ढंगले अगाडि गए।’

राष्ट्रिय सभाको निर्वाचन र नेपाली कांग्रेसको महासमितिको बैठकबाट गठबन्धनमा केही तरङ्ग आएको टिप्पणी गरे।

‘कोशीमा जसरी माओवादी केन्द्रका उम्मेदवार पराजित हुने स्थिति कांग्रेसकै कारणले भयो। कोशी प्रदेशका हाम्रा पार्टीका सबै नेता कार्यकर्ता समर्थकहरु पनि असाध्यै बढी आक्रोशित स्थितिमा हुनुहुन्छ’, उनले भने ‘भर्खर कांग्रेसको महासमिति बैठकले पनि आवश्यक नभएको निर्णय गरेको छ।’

गठबन्धन राम्रै गएको अवस्थामा गठबन्धन नगर्ने निर्णयले सोच्न बाध्य भएको उनले बताए।

‘गठबन्धन राम्रै लैजाने भन्ने थियो। हामी अझै त्यसमा प्रतिबद्ध पनि थियौँ’, उनले भने ‘जसको समर्थनबाट पहिलो पार्टी बन्यो। त्यही पाटीसँग गठबन्धन गर्दैनौँ रुख बाहेक भनेर अहिले बोल्न पर्ने जरुरी के थियो ? यसले पनि देशभरि एउटा तरङ्ग पक्कै पनि गरेको छ।’ 

नेपाली कांग्रेस भित्र भएको धर्म निरपेक्षताको विषय प्रति पनि उनले असन्तुष्ट पोखेका छन्। शान्ति प्रक्रियाको हस्ताक्षर पार्टीले नै जनयुद्धको विषयमा अनावश्यक कुरा बोलेको उनले बताए।

‘बोल्न नपरेको बेलामा जनयुद्धका विषयमा बोलिएको छ तर, त्यसले ठुलै असर पुगेको छ भन्ने चाहिँ होइन’ उनले भने।

प्रकाशित: १७ फाल्गुन २०८० २१:०३ बिहीबार