राजनीति

अध्यक्ष पद छाड्न आग्रह गर्दै महन्थलाई महासचिवको चिठी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई अध्यक्ष पद छाड्न आग्रह गर्दै लोसपाकै महासचिव केशव झाले चिठी पठाएका छन्।

ठाकुरलाई चिठी बुझाउन झा आइतबार बिहान ठाकुर निवास हात्तीवन पुगेका थिए। उनले ठाकुरकै घरमा पुगेर चिठी दिएका थिए।

चिठीमा अध्यक्ष पदबाट राजीनामा गरेर पार्टीको अभिभावको रूपमा बस्न ठाकुरलाई आग्रह गरिएको छ। अब पनि अध्यक्ष पदमा बसिरहे पार्टी अघि नबढ्ने उनको भनाइ छ। 

‘इतिहासले सधैँ अवसर दिन्न। बेलैमा अवसर छोप्नु बुद्धिमानी होला। हाम्रो राजनीति भनेको आन्दोलन उठाउने र अवसरवादमा परिणत गर्ने बाहेक अरू केही हुन सकेन’चिठीमा उनले भनेका छन्। केही समय यता लोसपाको विवाद उत्कर्षमा पुगेको छ। पार्टी फुट्ने अवस्थामा पुगेको छ। 

कानुनी रूपमा लोसपालाई फुटाउन मिल्दैन तर लोसपाका दोस्रो नेता राजेन्द्र महतो, झा, सन्तोष मेहता लगायतका नेताहरूले नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन्। एक पटक फुटेर बनेको पार्टी ५ वर्षसम्म फुटाउन नमिल्ने कानुनी व्यवस्थाका अनुसार ५वर्षसम्म लोसपालाई फुटाउन मिल्दैन।

तर लोसपा छाडेर नयाँ पार्टी गठन गर्न मिल्छ। त्यही अभियानमा महतो,झा लगायतका नेताहरू लागेका छन्। यही फागुन महिना देखि उनीहरूले काठमाडौँ लगायत विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन्। नयाँ पार्टी खोल्ने अभियानमा लागेका नेताहरू बबरमहलमा रहेको लोसपाको पार्टी कार्यालय जान छाडेका छन्।

प्रकाशित: १३ फाल्गुन २०८० १४:१५ आइतबार

अध्यक्ष महन्थ ठाकुर महासचिव केशव झा