नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सस्तो लोकप्रियताका लागि काम गरिरहेको बताएका छन्।
आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले थ्रि हन्ड्रेड जी जहाज किनेर १८ करोड रुपैयाँ कमिसन खाने काममा लागेको बताए। उनले पर्यटनमन्त्रीले नेपाल एयरलाइन्सलाई के गर्न खोज्नुभएको हो? भन्दै प्रश्न गरे। उनले जहाज किन्न नसक्ने अवस्था रहेको बेलामा जहाज किन्नु कति जायज हो? भन्दै प्रश्न गरे। उनले उत्पादन नै बन्द भइसकेका जहाज ल्याएर नेपाल एयरलाइन्सलाई कहाँ पुर्याउन खोजिएको भन्ने बारेमा सरकारले गम्भीर ध्यान दिन आवश्यक रहेको बताए। आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न क्यामेरा लिएर जाने र भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने देश विकास कसरी हुनसक्छ? भन्दै प्रश्न गरे।
उनले भने, ‘पर्यटनमन्त्री नयाँ जहाज किन्नुपर्यो भनेर हिँडिरहनुभएको छ। अब नेपाल एयरलाइन्सलाई कहाँ पुर्याउने हो? कुन अवस्थामा लैजाने हो? यो बारेमा सोच्नुपर्ने अवस्था आएको छ। ट्विनअटर क्यानडाबाट दुई तीन वटा किन्ने अहिले निर्णय भएको छ। झन्डै त्यो आफ्नै समितिले नेपाल एयरलाइन्सको नेपाल वायुसेवा निगमको आफ्नै समितिले ल्याउनसक्ने अवस्था छैन, ती जहाजहरु उत्पादन हुन छोडिसकेका छन्, भन्दा टेण्डर एक महिनाअघि लागू गरिएको छ। रिपोर्ट अनक्वालिफाइड भनिसकेको छ। जुन जहाजहरु अहिले उत्पादनमा छैनन्, थ्रि हन्ड्रेड जी भन्ने जहाज ल्याइँदैछ, जुन अहिले प्रोडक्शनमा छैन। त्यसमा झन्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा लागिएको छ। तै पनि मन्त्रीज्यु असाध्यै सुधार गर्न लागेको आश्वासन दिँदै हिँड्नुभएको छ। एउटा झाडु र क्यामेरा लिएर मन्त्रालयमा प्रवेशन गर्ने र फोटो खिचेर प्रवेश गर्ने पद्धतिको विकास भएको छ। यसरी मुलुक कहाँ जाने हो सभामुख महोदय। सस्तो लोकप्रियताका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न टिभि लिएर जाने र त्यो भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने मुलुक कसरी विकास हुन्छ।’
प्रकाशित: १३ फाल्गुन २०८० १२:४५ आइतबार