राजनीति

सभामुखसँग भारत र पाकिस्तानका राजदूतको भेट

काठमाडौं– सभामुख कृष्णबहादुर महरासँग भारत र पाकिस्तानका राजदूतले भेट गरेका छन्।

महराका उपसचिव हरिहर पोख्रेलका अनुसार बुधबार भारतीय राजदूत मञ्जिभसिंह पुरी र पाकिस्तानी राजदूत मजहर जावेदले सभामुखसँग भेट गरेका हुन्।

भेटको अवसरमा संघीय संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराई, सचिव हिमलाल सुवेदी, वीरेन्द्र बहादुर कार्कीको पनि उपस्थिति थियो।

भेटघाटका क्रममा राजदूतद्वय सिंह र जावेदले महरालाई सभामुख निर्वाचित भएकोमा बधाई र शुभकामना व्यक्त गरे। उनीहरुबीच दुई देश (नेपाल–भारत र नेपाल पाकिस्तान) को सम्वन्धलाई अझ विस्तार गर्दै लैजाने सम्बन्धमा छलफल भएको थियो।

पाकिस्तानी राजदूतसँगको भेटमा सभामुख महराले नेपाल र पाकिस्तानबीच प्रगाढ सम्बन्ध रहेको जानकारी गराउँदै नेपाल पाकिस्तानको संसदबीच मैत्रीपूर्ण समूह स्थापना गर्ने र संसदीय भ्रमण आदन प्रदान गरी अबका दिनमा संसदीय सम्बन्ध अझै प्रगाढ गराउने विषयमा छलफल भएको बताइएको छ। सार्कस्तरीय सभामुखको एशोसियसनलाई बलियो बनाउने सम्बन्धमा आफूले भुमिका निर्वाह गर्ने सभामुखले विचार व्यक्त गरेका थिए।

नेपाल र पाकिस्तानको भ्रमण आदान प्रदान हुने गरेको र आगामी दिनहरुमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन आफ्नो प्रतिवद्धता व्यक्त गरे।

विकास चाँहेका छौंः भारतीय राजदूत

सभामुख महरासँगको भेटमा भारतीय राजदूत पुरीले निर्वाचनपछि नेपालले  स्थायित्व हासिल गर्दै विकास निर्माणमा जुट्नुपर्नेमा जोड दिए।

जवाफमा महराले नेपाल र भारतबीच प्राचिनकालदेखि प्रगाढ सम्वन्ध रहेको जानकारी गराउँदै नेपाल भारतबीचको संसदबीच मैत्रीपूर्ण समूह स्थापना गर्ने र संसदीय भ्रमण आदन प्रदान गरी अबका दिनमा संसदीय सम्बन्ध झनै प्रगाढ बनाउनुपर्ने बताए। भारत र नेपालको संसदीय सम्बन्धलाई अझ विस्तार गर्ने र दुवै देशको संसदबीच भ्रमण गर्ने र अनुभव आदान प्रदान गर्ने विषयमा समेत छलफल भएको थियो। 

नेपाल र भारतको भ्रमण आदान प्रदान हुने गरेको र आगामी दिनहरुमा दुई देश बीचको सम्वन्ध अझ प्रगाढ बनाउन आफ्नो प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ३० फाल्गुन २०७४ १३:०८ बुधबार