राजनीति

राष्ट्रपति भण्डारीलाई चीनको बधाई

काठमाडौं– उत्तरी छिमेकी चीनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई दिएको छ। भण्डारीले बुधबार अपराह्न शीतलनिवासमा सपथ लिएलगत्तै चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै बधाई दिएको हो।

मन्त्रालयका प्रवक्ता लु काङले राष्ट्रपति भण्डारी र नयाँ सरकारको नेतृत्वमा नेपालले प्राप्त गरेका उपलब्धिहरु संस्थागत हुने विश्वास व्यक्त गरेका छन्।

चीनले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको उल्लेख गर्दै प्रवक्ता काङले दुई देश र नागरिकको हितका लागि आपसी सहयोग मजबुद गर्नका लागि नेपालसँग काम गर्न तयार रहेको पनि जानकारी गराएका छन्।

मंगलबार भएको निर्वाचनमा कांग्रेसकी लक्ष्मी राईलाई पराजित गर्दै दोस्रोपटक राष्ट्रपति निर्वाचित भण्डारीले बुधबार प्रधानन्यायाधीश गोपाल पराजुलीबाट सपथ लिएकी हुन्।

प्रकाशित: ३० फाल्गुन २०७४ १२:४२ बुधबार