राजनीति

प्रतिनिधि सभाको बैठक ११ बजे बस्दै

प्रतिनिधि सभाको बैठक आज पन बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा अहिले बिहान ११ बजे बस्ने छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको पत्र पढेर सुनाउने छन्।

त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणाले आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यस्तै आजको बैठकमा सभामुख घिमिरेले सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी –दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रस्तुत गर्ने व्यवस्थापन कार्य रहेको पनि संसद सचिवालयले जनाएको छ।

गत माघ १८ गते संसदमा दर्ता भएको यो विधेयकमा दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०–४० प्रतिशत सदस्य आवश्यक पर्ने पूर्ववत व्यवस्था लागू हुने व्यवस्था छ।

यसैबीच, आजको संसद बैठक पनि प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्ने तयारी गरेको छ।

बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री प्रकाश ज्वालाको राजीनामा र सरकारको जवाफ माग गर्दै एमालेले बिहीवारको बैठकमा पनि विरोध जनाएको थियो।

प्रकाशित: ११ फाल्गुन २०८० १०:१५ शुक्रबार

प्रतिनिधि सभा संघीय संसद् भवन नयाँ बानेश्वर सभामुख देवराज घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय