राजनीति

महासमितिको मुखमा सकसले प्रतिनिधि चयन

नेपाली कांग्रेसको महासमिति बैठक यही फागुन ७ गते देखी ललितपुरमा बस्दैछ। महाधिवेशन भएको दुई वर्षपछि फागुन ७ देखी १० गतेसम्म कांग्रेसले महासमिति बैठक आव्हान गरेको हो।

महासमितिको मुखमा बल्लतल्ल नेपाली कांग्रेस अर्घाखाँचीले महासमिति बैठकमा भाग लिने प्रतिनिधि चयन गरेको छ। महासमिति बैठकमा भाग लिन नपाउने भएपछि अन्तिम समयमा जिल्लाले महासमिति सदस्यहरूको टुंगो लगाएको हो।

२०७८ मंसिर ८ गते जिल्ला अधिवेशन भएको थियो। त्यसयता पटक–पटक महासमिति सदस्य चयनका लागी कसरत भएपनि सहमति जुट्न सकेको थिएन। 

केन्द्रले ताकेता गरेपछि गत कार्तिक २ गते जिल्ला कार्यसमितिको बैठकले १५ गतेका लागी महासमिति सदस्य निर्वाचन गर्ने निर्णय गरेको थियो। तर, १२ गते निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया स्थगित भएको सूचना जारी गरेका थिए।

त्यस पछाडि बसेको जिल्ला कार्यसमिति बैठकले सभापति केशव श्रेष्ठलाई प्रक्रिया टुङ्गाउन म्यान्डेड दिएको थियो। ६ वटा स्थानियतहका पार्टी सभापतिहरूको सहभागितामा महासमिति चयन गर्ने जिम्मा पाएका सभापति श्रेष्ठले पछि यो प्रक्रियाको सबै जिम्मा पाए।

नेताहरुको दबाबले उनलाई सदस्य चयन गर्न सकस परेको थियो। उनी निकट नेताहरुका अनुसार महासमितिमा जाने इच्छा धेरैले राखेका र दबाब बढाउन थालेपछि सभापति श्रेष्ठ अन्योलमा थिए।

तर महासमिति बैठक नजिकिएपछि उनले मापदण्ड बनाएर निर्णय गरेका छन्। बैठकमा भाग लिन नपाउने अवस्था बनेपछि उनले जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिहरुले ल्याएको मतका आधारमा महासमिति सदस्य चयन गरेको जानकारी गराएका छन्। 

अधिकांश जिल्लाहरुमा यही मापदण्डका आधारमा प्रतिनिधि चयन भइरहेको भएपनि जिल्लामा सहमति हुन सकेको थिएन।

पछिल्लो समय एकल जिम्मेवारी पाएका सभापति श्रेष्ठले अन्तिम अवस्थामा त्यही प्रक्रिया मार्फत नै सदस्यहरू चयन गरेका हुन्। अन्य कुनै विकल्पले काम नगरेकाले यो निर्णय गरेको उनले बताए। 

‘आकांक्षीहरु धेरै हुनुहुन्थ्यो। पटक–पटक छलफल भयो, ‘उनले भने,‘ महासमितिमा भाग लिनबाट बन्चित हुने अवस्था आएपछि यो निर्णय लिएको हुँ।’ नेताहरुको व्यर्थको हटले गर्दा ढिलाइ हुन पुगेको उनको भनाई छ।

महासमिति बैठकमा अर्घाखाँचीका एघार जना सदस्यले भाग लिने छन्। खुलाबाट डा. राम बहादुर बिसी, विष्णु मुस्कान, लेखनाथ पोख्रेल, कमल प्रसाद भुसाल र डा. जय बहादुर टण्डन महासमिति सदस्य चयन भएका छन्। 

मतका आधारमा चयन गरिएका प्रतिनिधिहरूको महिलाबाट निर्मला क्षेत्री र शान्ता भण्डारीले बैठकमा भाग लिने छन्। यस्तै जनजातिबाट मुक्तिराम श्रेष्ठ, दलितबाट मणिराम परियार, खस आर्य पुरुषबाट पिताम्बर खनाल र खस आर्य महिलाबाट अम्बिका पोख्रेलले महासमिति बैठकमा भाग लिने छन्।

बैठकमा नेपाली कांग्रेसको महाधिवेशन समयमा गर्नुपर्ने, कांग्रेसलाई जनतासँग जोड्ने कार्यक्रम ल्याउन पहल गर्ने र निर्वाचनको टिकट पहुँचका आधारमा नभई न्याय सङ्गत वितरण गर्ने कुरामा जोड दिने तयारी गरेको कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा महासमिति सदस्य शान्ता भण्डारीले बताइन्। 

निर्वाचन अघिको तालमेलले पार्टीमा विचलन ल्याएको भन्दै उनले यसलाई रोक्ने आफूहरूको प्रयास रहने उनले बताइन्।

मापदण्डमा परेनन् पूर्वमन्त्री

महासमिति सदस्य छनौट गर्न जिल्ला सभापति श्रेष्ठले महाधिवेशन प्रतिनिधिहरूले ल्याएको मतलाई मापदण्ड बनाए। मतका आधारमा छनौट गर्दा कांग्रेस पूर्व केन्द्रीय सदस्य तथा पूर्व पर्यटन राज्यमन्त्री रेवती प्रसाद भुसाल महासमिति सदस्यमा छनौट हुन सकेनन्।

तीव्र इच्छा प्रकट गरेका भुसाललाई महासमितिमा छनौट हुने वातावरण बन्न सकेन। भुसालसँगै पूर्व महासमिति सदस्य द्वय सूर्य अधिकारी, श्यामनाथ काश्यप समेत अहिलेको महासमिति सदस्यमा अटाउन सकेनन्। अधिकारी र काश्यपले पनि महासमिति सदस्यका लागी जोड गरेका थिए।

भूगोलका आधारमा छनौट नगरिएको, सिनियर–जुनियर नहेरिएको, पदिय मर्यादा ख्याल नगरिएको भन्दै केही महाधिवेशन प्रतिनिधिहरूले भने यसको विरोध गरेका छन्।

प्रकाशित: ५ फाल्गुन २०८० १९:४९ शनिबार