राजनीति

शिक्षा–स्वास्थ्य क्षेत्रमा राजनीति हुनु हुँदैन: मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विकास–निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन्।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज जनकपुरधाममा आयोजित तेस्रो वार्षिक समारोहमा मुख्यमन्त्री यादवले शिक्षा, स्वास्थ्यजस्ता विकासका आधारभूत संरचनामा दलीय राजनीति अनुपयुक्त हुने भन्दै विकास–निर्माणका कामका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए।

यसअघि प्रदेशमा बजेटको सकसबारे उठेको प्रश्नको जवाफमा उनले प्रतिष्ठान सञ्चालनका लागि चाहिने रकममा कन्जुस्याइँ नगरिदिन आग्रह गरे।

सामान्य उपचारका लागि काठमाडौं, धरान, चितवन जानुपर्ने बाध्यता अन्त्य गर्न र गुणस्तरीय सेवा प्रवाह गर्न चिकित्सकहरुलाई अनुरोध गर्दै मुख्यमन्त्री यादवले बजेट पुगेन भनेर माग उठाइरहनु भन्दा उपलब्ध स्रोत र साधनको समुचित उपयोग गर्नुपर्नेमा जोड दिए।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही महिनाभित्रमा उपकुलपति नियुक्त गरिने उनले जानकारी दिए। रासस

प्रकाशित: ५ फाल्गुन २०८० १७:०९ शनिबार