राजनीति

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेकालाई रिहा गर्ने आदेशप्रति उपप्रधानमन्त्री श्रेष्ठको असन्तुष्टि

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलगायतका ३ जनालाई रिहा गर्ने अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको राज्यको व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले जिल्ला अदालत काठमाडौंमा २ दिनको म्याद दिएर अनुसन्धान नै गर्न नदिई गरिएको सो फैसला नेपालको न्यायिक इतिहासकै पहिलो फैसला भएको जिकिर समेत गरे।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल प्रहरीले अपराध अनुसन्धान विभागले म्याद थप गर्न पाउने भएपनि त्यसको समय नदिएर त्यतिधेरै रोजगारी दिएको भन्ने जस्ता भाषा अदालतको फैसला आएको कुरालाई सम्बन्धित निकायले समिक्षा गर्नुपर्ने समेत बताए। उनले सरकारले अदालतको निर्णय मान्ने भएकाले त्यसको कार्यान्वयन पूर्ण रुपमा हुने पनि बताए। उपप्रधानमन्त्री श्रेष्ठले अदालतको सो निर्णयको कार्यान्वयन गर्ने र सरकारले त्यो मुद्दालाई अघि बढाउने बताए।  

उपप्रधानमन्त्री श्रेष्ठले सो मुद्दामा संलग्न जोकोहीलाई पनि कारबाही गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए। गत २२ माघमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति सदस्य अरुण चौधरी, अध्यक्ष सञ्जय ठाकुर र तत्कालिन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई २ दिनभित्र रिहा गर्न आदेश दिएको थियो। अदालतको सो निर्णय ठिक वा बेठिक जे भएपनि सरकारले त्यसलाई सम्मान गरेर अघि बढ्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो।  

प्रकाशित: २८ माघ २०८० १६:४९ आइतबार

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ बाँसबारी जग्गा प्रकरण