राजनीति

केन्द्रीय समिति १५१ जनाको बनाउने कुरामा नेताहरू सहमतः सापकोटा

नेकपा माओवादी (केन्द्र) को केन्द्रीय समितिमा १ सय ५१ जना मात्र रहने विषयमा पार्टीका नेताहरूबिच सहमति भएको छ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेताहरूबिच केन्द्रीय समितिमा १५१ जना मात्र रहने सहमति भएको जानकारी दिएका हुन्।

उनले शुक्रवार र शनिवार २ दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकपछि उक्त जानकारी दिएका हुन्। प्रवक्ता सापकोटाले सबै नेताहरूले केन्द्रीय समिति १५१ जनाको प्रस्ताव गरेको बताएका हुन्।

यसैगरी नेकपा माओवादी केन्द्रले पार्टीको विधान सम्मेलनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीहरूलाई दिएको छ। प्रवक्ता सापकोटाका अनुसार आगामी फागुन १, २ र ३ गते बोलाइको उक्त सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रूप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो।

शनिवार सकिएको बैठकमा नेताहरूले पार्टीलाई विधि र विधान अनुसार अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए। उनीहरूले पार्टीलाई चुस्त दुरुस्त राख्ने कुरामा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याएको पनि प्रवक्ता सापकोटाले बताए।

उनले सञ्चारकर्मीहरूसँग भने, ‘खासगरी केन्द्रीय समितिको बारेमा चाहिँ सबैको एकमत जस्तो भयो। १५१ जनाको प्रस्ताव भएको छ। त्यो ठिक छ भन्ने भयो। अब स्थायी समिति बैठक हिजो र आज जुन लक्ष्यका साथ बोलाइएको थियो। त्यो लक्ष्य पूरा भएको छ।’

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम मुलुकका आर्थिक अवस्थामा आमूल परिवर्तन हुने गरी ल्याउने धारणा राखेका थिए।

प्रकाशित: २८ माघ २०८० ०८:४१ आइतबार

नेकपा माओवादी केन्द्रीय समिति केन्द्रीय कार्यालय पेरिसडाँडा अग्निप्रसाद सापकोटा पार्टी नेतृत्व