राजनीति

माधव नेपालले आगामी चुनाव जित्दैनन्: ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आगामी चुनाव नजित्ने बताएका छन्।

नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको गरुडामा उद्घाटन गर्दै ओलीले पूर्व प्रधानमन्त्री नेपालले आगामी चुनाव नजित्ने बताएका हुन्।

नेकपा एमालेले नेपाललाई उपप्रधानमन्त्री र प्रधानमन्त्रीसमेत बनाएको तर आफ्नो दुई तिहाइ बहुमतको सरकारलाई ढालेर काँग्रेसको पाउमा चढाएको उनले आरोप लगाएका छन्।

नेपालको गृह जिल्ला रौतहटमा ओलीले नेपालमाथि कटाक्ष गर्दै अहिले रौतहटभन्दा गठबन्धनलाई आफ्नो घर बनाउने गरेको आरोप लगाए। 

पार्टी फुटाउने, सरकार ढाल्ने र काँग्रेसको पाउमा लम्पसार पर्ने नेपालको पार्टीलाई गठबन्धनले पनि राष्ट्रिय पार्टी बनाउन नसकेको कटाक्ष गरे।

कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्टराई, रघुवीर महासेठ, किरण साह लगायतका नेता कार्यकर्ताहरूले मन्तव्य व्यक्त गर्दै माधवकुमार नेपाल र प्रभु साहको आलोचना गरेका छन्। अब नेकपा एमाले बलियो भएर अगाडि बढ्ने नेताहरूले प्रतिबद्धता जनाएका छन्।

जिल्ला अधिवेशनमा ओलीलाई पार्टीको तर्फबाट ५१ किलोको मालाले स्वागत गरिएको थियो।

प्रकाशित: २५ माघ २०८० १८:०५ बिहीबार