राजनीति

के बालेनले विपक्षीको ‘चक्रव्यूह’ तोड्न सक्लान् त ?

धरहराको पार्किङ विवादमा चारैतिरबाट घेरिँदै गर्दा काठमाडौँका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा श्रीमद्भागवत गीताको तस्बिर पोस्ट गरे।  सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दुवैलाई निशाना बनाउँदै आएका बालेन अहिले दुवैतिरको प्रतिआक्रमणको घेरामा परेका छन्।

यही मेसोमा ‘पकेट गीता सिम्स फेन्सी’ भन्दै उनले सार्वजनिक गरेको तस्बिरमा हजारौँ लाइक र सयौँ कमेन्ट आएका छन्। महाभारतको कथा पढ्नेहरूले कतिपयले उनलाई  असत्यको पक्षमा लड्दै गरेको अर्जुनको संज्ञा दिएका छन् त कतिपयले  विकाश विरोधी कौरवको  चक्रव्यूहमा पर्दै गएको अभिमन्यु भनेका छन्।

‘महाभारतमा कौरव र पाण्डव (सत्य र असत्य) बिचको युद्ध भयो,’  बालेनको स्ट्याटसमा शिरीष देवकोटाले कमेन्ट गरेका छन्,’अहिले देशमा देश लुट्ने र देश बनाउनेहरू बिच युद्ध सुरु हुँदै छ।’

त्यस्तै कतिपयले बालेनले राम्रो काम गरेको भन्दै  ‘नगर पिताको हातमा गीता’ भन्दै प्रशंसा गरेका छन्। ‘गज्जब सानो किताबमा ठुलो ज्ञान,’ प्रभाकर सापकोटा लेख्छन्, ‘राजधानीमा मेयरले गरेका  सकारात्मक काम जस्तै।’

कतिपयले मेयरले राम्रो काम गरेको भन्दै ‘कर्म गर तर फलको आशा नगर’ भन्ने प्रतिक्रिया दिएका छन्।  सानातिना कामको पनि प्रचार गर्दे त्यसको जस लिन लागि परेको भन्दै व्यङ्ग गरेका छन्।  ‘तिमीलाई कर्म गर्ने अधिकार छ, किशोर भट्टराई लेख्छन्, ‘तर  त्यसको परिणाम तिम्रो हातमा छैन।’

त्यस्तै कतिपयले राम्रो काम गर्दे अझै अगाडी बढ्न बालेनलाई सुझाव दिएका छन्।  वर्तमान राजनीतिबाट निराश कतिपयले  अव के गर्ने नगर्ने भन्ने अलमलमा नपरी समग्र मुलुकको विकासमा बालेन अगाडी बढ्नु पर्ने प्रतिक्रिया समेत  दिए।

‘एउटा यस्तो पुस्तक जसमा मानिसले ‘अब म के गरूँ’ भन्ने दुबिधामा रुमलिएको अवस्थामा सही मार्ग दर्शन गर्ने माध्यम हो गीता,’ राज ढकाल लेख्छन्, ‘यहाँ हरेक प्रश्नको उत्तर पाउन सकिन्छ।’

कतिपयले भने यसलाई धर्मको राजनीति समेत भन्न भ्याए। भारतमा हिन्दु राजनीति सक्रिय हुँदै गर्दा नेपालमा पनि त्यसको प्रभाव पार्न थालेको कतिपयको आङ्कलन छ। ‘भनेसि अव राजा फर्काउने अभियान आउनु भयो,’   विक्रम पौडेल लेख्छन्, ‘कमल थापाले पनि यस्तै गीताको किताब समाएर कसम खाएका थिए हैनन् र ?’

केहीले भने  उनी  विकास विरोधीहरूको चौतर्फी घेरामा पर्दे  गएको बताएका छन्। गीताबाट सन्देश लिएर समाज अगाडी बढ्नु पर्ने बताए। ‘देशको प्रगति  सोच्ने बेलामा भीष्म पितामहको जसरी असत्यको पक्ष लिन कोही बाध्य नहुन्,’  सामाजिक सञ्जालमा उमेश भट्ट लेख्छन्, ‘पाण्डवको विजय हुँदाहुँदै पनि अभिमन्यु जस्ता वीर गुमाउनु प¥यो।’ 

उनले भनेजस्तै अर्का  एक पाठकले पनि बालेन महाभारतको अभिमन्युजस्तै चक्रव्यूहमा पर्दै गएको बताए। ‘महाभारतमा  कौरवहरूले अभिमन्युलाई चक्रव्यूहमा पारे जस्तै हाम्रा मेयर पनि यति बेला विपक्षीहरूको  घेरामा परेका छन्, ’ विशाल  दाहाल लेख्छन्, ‘  गीताको तस्बिर सार्वजनिक गरेका मेयरले के चक्रव्यूह तोड्न सक्लान् त ?’

प्रकाशित: २५ माघ २०८० १०:५५ बिहीबार

मेयर बालेन्द्र शाह