राजनीति

महासचिव पाण्डेयद्वारा शपथग्रहण

सङ्घीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आज आयोजित समारोहमा सभामुख देवराज घिमिरेले पाण्डेयलाई शपथ ग्रहण गराएका हुन्।

महासचिवमा नियुक्तिअघि पाण्डेयले मङ्गलवार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिए। राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गरेका हुन्।

गत मङ्सिर २५ गते सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए।

तर, तत्कालीन महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नभएको, पाण्डेयले प्रतिनिधि सभाको सचिव पदबाट राजिनामा नदिएको आदि कारणलाई देखाउँदै रीत नपुगेको भनी राष्ट्रपतिले सिफारिस अनुसार महासचिव नियुक्त गरेका थिएनन्।

प्रकाशित: २४ माघ २०८० ११:२९ बुधबार

सङ्घीय संसद् महासचिव पद्मप्रसाद पाण्डेय पद तथा गोपनियता गणेश प्रसाद तिमिल्सना शपथग्रहण देवराज घिमिरे