राजनीति

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताएका छन्।

वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको आज आयोजित रजत महोत्सवमा नेता थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको धारणा राखे। उनले अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको उल्लेख गरे।

‘राजनीतिक दलका उच्च नेता, कर्मचारी, स्थानीय तहका प्रमुखसम्ममा सुधारको आवश्यकता छ’, उनले भने, ‘सबै क्षेत्रमा सुधार गर्न सकिए मात्रै राष्ट्र विकास गर्न सकिन्छ।’

माथिल्लो तहबाट सुधारको प्रयास हुनुपर्ने र सबैले आ–आफ्नो ठाउँबाट सुधारको प्रयास गरे मात्रै मुलुकमा आमूल परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो।

बढ्दो महँगी, बेरोजगारी, भ्रष्टाचार र भागबन्डाको राजनीतिले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाएकाले लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास बढाउन र आम नागरिकको जीवनमा सुधार ल्याउन शुद्धीकरण आवश्यक रहेकोमा उनले जोड दिए।

प्रकाशित: २० माघ २०८० १८:३० शनिबार