नेपाली काँग्रेसका सांसद डा. सुनिलकुमार शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले पैसाको बार्गेनिङ गर्नका लागि उद्योगी अरुण चौधरीलाई पक्राउ गरेको बताएका छन्।
शुक्रवार नेपाली काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले वर्तमान सरकारले उद्योगी तथा ठूला घरानाहरुलाई पैसाको बार्गेनिङ गर्नका लागि पक्राउ गर्ने गरेको बताएका हुन्।
उनले उद्योगीहरुलाई गिरफ्तार गर्ने र हतोत्साही बनाई ‘अण्डरटेबल’ पैसाको बार्गेनिङ गर्ने गरिएको भन्दै सोही डिजाइनमा उद्योगी चौधरीलाई गिरफ्तार गरिएको बताए। उनले चौधरीमाथि कुनै कानूनी प्रश्न भए अदालतमा जान सकिने भन्दै केवल व्यापारीहरुलाई आतंकित बनाउनका लागि मात्रै यस्तो गरिएको बताए।
उनले भने, ‘अहिलेको प्रचण्ड नेतृत्वको सरकार मिनबहादुरको गिरफ्तारीदेखि लिएर अहिलेसम्म हेर्नुभयो भने देशमा ठूला–ठूला उद्योगपतिहरु, ठूला घरानाहरुलाई पुराना केसहरु, ठूला उद्योगपतिहरुलाई गिरफ्तार गर्ने, ह्यारास गर्ने र अण्डरटेबल पैसा डिल गर्ने यो प्रथा अहिलेको राज्यसत्तामा बसेको विशेषतः हामीसँग गठबन्धनमा रहेको माओवादीको प्रचण्डजी र अहिलेको गृहमन्त्रीको डिजाइन हो। यसमा कुनै कानूनी प्रश्न भएको भए त्यो फाइललाई लिएर, अनुसन्धान गरेर अदालतमा दर्ता गर्न सकिन्थ्यो। तर प्रक्रिया हेर्नुस् हिजो मिनबहादुरदेखि अहिलेसम्म आइपुग्दाखेरी यसरी व्यापारीहरुलाई गिरफ्तार गर्ने, अण्डरटेबल डिल गर्ने र व्यापारीहरुलाई आतंकित बनाउने प्रथा छ। यसको म सांसदको रुपमा घोर भत्र्सना गर्न चाहन्छु व्यक्तिगत रुपमा पनि र धेरै साथीहरुको मनशाय त्यही छ।’
प्रकाशित: १९ माघ २०८० १८:५८ शुक्रबार