राजनीति

सांसदहरुलाई राजधानी नछोड्न काँग्रेसको निर्देशन

नेपाली काँग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदहरुलाई निर्देशन दिएको छ।

शुक्रवार बसेको काँग्रेस संसदीय दलको बैठकले आगामी संसद अधिवेशनभर राजधानी काठमाडौँ नछोड्न सांसदहरुलाई निर्देशन दिएको हो। विगतमा संसदको बैठक तथा समिति बैठकहरुमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्नुपर्ने अवस्था आएकोले यस अधिवेशनमा भने सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनले नेपाली काँग्रेसका सांसदहरु निरन्तर रुपले सभा र समितिहरुमा उपस्थित हुनुपर्ने र प्रभावकारी ढंगले काम गर्नुपर्ने निर्णय भएको बताए।

उनले संसदको अधिवेशन चल्दासम्म नेपाली काँग्रेसका सांसदहरुलाई राजधानी नछोड्न निर्देशन दिइएको बताए। यदि कुनै अत्यावश्यक कामले राजधानी छोड्नु परेमा संसदीय दलको प्रमुख सचेतक अथवा सचेतकबाट लिखित रुपले स्वीकृति लिएर मात्रै राजधानी छोड्न निर्देशन दिइएको उनले स्पष्ट पारे। काँग्रेस संसदीय दलले संसद र समितिको बैठकमा अनिवार्य उपस्थित हुन, बैठक चल्दासम्म बस्न र क्रियाशिलतापूर्वक समिति र सभाको गतिविधिहरुमा भाग लिन पनि सांसदहरुलाई निर्देश गरेको प्रमुख सचेतक लेखकले जानकारी दिए।

बैठकले सभा र समितिको बैठकमा मन्त्रीहरुको उपस्थिति अनिवार्य गराउन सरकारलाई आग्रह समेत गरेको छ। बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयकहरुलाई चाँडोभन्दा चाँडो प्रश्तुत गर्न सरकारलाई आग्रह पनि गरेको छ। त्यसैगरी काँग्रेसले संसदका गतिविधिलाई व्यवस्थित गर्न र संसदलाई प्रभावकारी बनाउन अरु राजनीतिक दलहरुलाई अपील पनि गरेको छ।

प्रकाशित: १९ माघ २०८० १८:१४ शुक्रबार

नेपाली काँग्रेस