राजनीति

कांग्रेसले पार्टीमा महिला सहभागिता बढाउने

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गरिने बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा भगिनी संगठन नेपाल महिला संघले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रमा देउवाले पार्टीका सबै तहमा महिलाको सहभागिता बढाउने प्रतिबद्धता जनाएका हुन्।

नेपालमा अहिले पनि महिलामाथि विभेद र हिंसाका घटना भइरहेको टिप्पणी गर्दै देउवाले सहरदेखि दूरदराजका गाउँमा अहिले पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको बताए । ‘महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता हो,’ देउवाले भने, ‘कांग्रेसले महिलामाथि हुनै सबै प्रकारका विभेद अन्त्य गरेर नीति निर्माण तहमा उनीहरुको सहभागिता बढाउनेछ।’

हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको जनाउँदै देउवाले मुलुकको आर्थिक प्रगति, सामाजिक एकता र सद्भाव बलियो बनाउन महिला सशक्तीकरण आवश्यक रहेको औंल्याए । ‘कांग्रेस सबैखाले हिंसाको अन्त्यसहित मुलुकलाई एकताबद्ध बनाएर आर्थिक समृद्धि हासिल गर्न चाहन्छ,’ देउवाले भने।

स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताउँदै देउवाले भने, ‘संविधानले दिएको अधिकार कार्यान्वयन गर्न पार्टी प्रतिबद्ध छ ।’

प्रकाशित: २५ फाल्गुन २०७४ ०२:२२ शुक्रबार