राजनीति

नेकपा एसको राष्ट्रिय परिषद्को बैठक आज पनि जारी

नेकपा एकीकृत समाजवादीको दोस्रो राष्ट्रिय परिषद्को बैठक आज पनि जारी छ। आइतवारबाट सुरू भएको परिषद्को बैठकमा विधानमाथि छलफल केन्द्रित भएर छलफल भइरहेको छ।  

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा विधानको मस्यौदामाथि समूहगत छलफल भइरहेको पार्टीका प्रवक्ता जगन्ननाथ खतिवडाले बताए।

परिषद् बैठकमा एक हजारभन्दा बढी प्रतिनिधि सहभागी छन्। केन्द्रीय कमिटी, केन्द्रीय निकाय, जन सङ्गठनका पदाधिकारीका अलावा सङ्घीय निर्वाचन क्षेत्रबाट एकजना महिला र एकजना पुरूष प्रतिनिधिका रूपमा बैठकमा सहभागी छन्।

आजको बैठकबाट सबै टोली नेताले समूहको सुझाव प्रस्तुत गर्ने र त्यसलाई समावेश गरेर आजै साँझ निष्कर्ष सुनाउने कार्यक्रम रहेको पनि उनले बताए।

समूहबाट आएका सुझाव टिपोट गर्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा कमिटी बनाएको पनि उनले बताए।

एकीकृत समाजवादीले यसअघि सचिवालय, केन्द्रीय कमिटी बैठक राखेर विधान मस्यौदामाथि छलफल गरिसकेको छ।  

एकीकृत समाजवादीले आगामी जेठ ३ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ। 

प्रकाशित: १५ माघ २०८० ०३:३९ सोमबार

नेकपा एकीकृत समाजवादी केन्द्रीय परिषद्को बैठक परिषद्को बैठक प्रज्ञा प्रतिष्ठान विधानको मस्यौदा जगन्ननाथ खतिवडा