राजनीति

रोल्पामा ३ वटा सरकार !

पत्रकार भेटघाटमा बोल्दै रोल्पा कांग्रेस सभापति अमरसिंह पुन ।

रोल्पा– स्थानीय तह निर्वाचनसँगसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनसरकार घोषणा गरेको रोल्पामा नेपाली कांगे्रसले पनि छायाँ सरकार तयार गरेको छ । विकास तथा आयोजना निर्माण र बजेट अनुगमनको लागि छायाँ सरकार निर्माण गरिएको कांग्रेस रोल्पाले जनाएको छ । 

‘काङ्ग्रेसको नेतृत्वमा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचन सफलतापुर्वक सम्पन्न गरि संविधान बमोजिम सत्ता हस्तान्तरण गरिसकेकाले आफ्नो प्रतिपक्षीय भूमिकालाई पहरेदारको रुपमा शसक्त बनाउन छायाँ सरकार निर्माण गरिएको हो।’ नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले भने ।

गत निर्वाचनहरुमा आफ्नो दलले बेहोरेको पराजयको समीक्षा गर्न जिल्लास्तरीय अगुवा नेता कार्यकर्ताहरुको छलफल र केन्द्रीय निर्देशनका आधारमा छायाँ सरकार निर्माण गर्ने निर्णय गरिएको कांग्रेस रोल्पाले जनाएको छ । ‘अब हुने सबै गतिविधिको निगरानि त गर्छौ नै, गत आर्थिक बर्षमा रोल्पा आएको करिब एक अर्ब बजेटको सदुपयोग या दुरुपयोग के भयो त्यो पनि खोज्छौ । अन्य दल, नागरिक समाजसंग सहकार्य गर्दै स्थलगत अनुगमनलाई पनि तिब्रता दिनेछौ ।’ कांग्रेस सभापति पुनले भने । ‘रोल्पामा स्थानीय तहले सुरु गरेको घोटाला अब रोकिनेछ । बिल बढाएर फछ्यौट गर्ने, उपभोक्ता समिति आफू अनुकुल बनाएर वदमासी गर्ने काम सुरु भएको छ, त्यसलाई निगरानी गर्नु जरुरी छ ।’

रोल्पामा रहेका कांगे्रसका सबै पराजित उमेद्वारहरु सोहि पदका लागि स्वतः छायाँ सरकारको पात्रका रुपमा रहनेछन् । मंगलवार बसेको पार्टीको बैठकका निर्णयका बारेमा जानकारी गराउन गरिएको पत्रकार भेटघाटमा बोल्दै रोल्पा कांग्रेस सभापति पुनले थपे ‘सुकिदह गाउँपालिका प्रमुख वीरबहादुर खत्रीसंग दुईवटा नागरिकता रहेको भन्ने बारेको उजुरीमा स्थानिय प्रशासनले चासो दिएको छैन । हामिले नागरिकता ऐन अनुसार कारबाही प्रकृया अगाडि बढाउन माग समेत गरेका छौ । राज्य सत्ताको दुरुपयोग गर्दै बदमासी गर्नेलाई अनुसन्धान नगरेर छोड्नु हुदैन । सिंगो रोल्पाली कांग्रेसको एउटै आवाज हो नागरिकता मुद्दा छिटो अगाडि बढाईनु पर्छ ।’ 

आउदो चैतको हिलो साताबाट गाउँगाउँमा संगठन विस्तारमा खटिने निर्णय गरेको रोल्पा कांग्रेसले संविधान संशोधन गरि पहाडी जिल्लालाई ५ नं. प्रदेशबाट टुक्राउने खेल हुनथालेको सूचना पाएको भन्दै त्यसो हुन नदिने जनाएको छ । ‘हिजो आफ्नै सरकार हुँदा पनि विरोध गरिएको हो । फेरी पनि पहाडी जिल्लालाई टुक्राएर अर्को खेलको तयारीको गन्ध आईरहेको छ । त्यसो हुनुहुदैन ।’ सभापति पुनले भने । 

 

प्रकाशित: २३ फाल्गुन २०७४ १२:१३ बुधबार

रोल्पामा वटा सरकार