राजनीति

बिहीबार राजधानी वर्षकै सबैभन्दा चिसो

फाइल तस्बिर

बिहीबार बिहान राजधानी काठमाडौँमा सबैभन्दा चिसो महसुस भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको तापक्रम ३ डिग्री सेन्टिग्रेडमा झरेको थियो। यो तापक्रम यो वर्षको सबैभन्दा कम हो।

यसअघि माघ ८ मा न्यूनतम तापक्रम ३.२ डिग्री रहेको थियो। राजधानीको हालसम्मकै सर्वाधिक न्यूनतम तापक्रम सन् १९७९को जनवरी ११ मा रेकर्ड गरिएको थियो। त्यस दिन काठमाडौँको न्यूनतम तापक्रम माइनस ३.५ डिग्रीमा झरेको थियो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार  आगामी सातादेखि तापमान बढ्ने देखिएको छ।

महाशाखाले हरेक दिन बिहान ८ बजेर ४५ मिनेटमा त्यसअघिको २४ घण्टाको सरदर तापमान र वर्षा सार्वजनिक गर्ने गरेको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले बिहीबार साँझ सार्वजनिक गरिएको मौसम पूर्वानुमान बुलेटिनका अनुसार आगामी २४ घण्टामा देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराइका अधिकांश स्थानहरूमा हुस्सु,कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: ११ माघ २०८० १२:१९ बिहीबार

काठमाडौँमा सबैभन्दा चिसो