राजनीति

गण्डकीमा गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवारहरु विजयी भएका छन्। 

राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका दुई र नेकपा माओवादी केन्द्रका १ गरेर तीनै जना उम्मेदवारहरु विजयी भएका हुन्।

गण्डकीबाट राष्ट्रिय सभा सदस्यमा अन्यतर्फ नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ (बागलुङ), अपाङ्गता तथा अल्पसंख्यकतर्फ काँग्रेसका पदमलाल परियार (तनहुँ) र महिलातर्फ नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा (पर्वत) विजयी भएको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ।

राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा अन्य, महिला र अल्पसंख्यक तथा अपाङ्गतातर्फ एक÷एक सिटका लागि निर्वाचन भएको हो। जसमा खुल्लातर्फ नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ (तनहुँ) विजयी भएका छन्। उनी प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर पराजुली (स्याङ्जा)लाई १ हजार ३ सय ३१ मतभारले पछि पार्दै विजयी भएका हुन्। विजयी श्रेष्ठले ३ हजार ८ सय ८ मतभार प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी पराजुलीले २ हजार ४ सय ७७ मतभार प्राप्त गरे। अन्यतर्फका अर्का उम्मेदवार रोमबहादुर भण्डारी (कास्की)ले १०६ मतभार प्राप्त गरे।

महिलातर्फ नेकपा माओवादीकी मनरुपा शर्मा (पर्वत) विजयी भइन्। उनी नेकपा एमालेकी सम्झना देवकोटा (गोरखा)लाई १ हजार १ सय ७ मतभारले पछि पार्दै विजयी भइन्। विजयी शर्माले ३ हजार ६ सय ६० मतभार प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी देवकोटाले २ हजार ५ सय ५३  मतभार प्राप्त गरिन्।

यसैगरी अपाङ्गता तथा अल्पसंख्यकतर्फ काँग्रेसका पदमलाल परियार (तनहुँ) विजयी भएका छन् । उनी नेकपा एमालेका अपाङ्गता तथा अल्पसंख्यकतर्फ हेमेन्द्र शेरचन (मुस्ताङ)लाई   १ हजार ३ सय १६ मतभारले पराजित गर्दै विजयी भएका हुन्। विजयी परियारले ३ हजार ७ सय ७४ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी शेरचनले २ हजार ४ सय ५८ मतभार प्राप्त गरे।

राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबिच गठबन्धन भएको थियो। तर बिहीबार भएको निर्वाचनमा गण्डकी प्रदेशमा सत्ता गठबन्धनका मत क्रस भएको छ। गण्डकीमा कुल २३० जना मतदाता रहेकोमा २२९ मतदाताले मतदान गरे। सहकारी ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली भने मतदानमा सहभागी भएनन्।

गण्डकी प्रदेशमा कुल ५ हजार ८ सय ९२ मतभार रहेकोमा सत्तारुढ गठबन्धनको मात्र ३ हजार ८ सय २७ मतभार थियो। तर बिहीबार भएको निर्वाचनमा सत्तारुढ उम्मेदवारले कम मतभार प्राप्त गरे। अन्यतर्फका काँग्रेस उम्मेदवार किरणबाबु श्रेष्ठले ३ हजार ८ सय ८ मतभार प्राप्त गरे। जुन गठबन्धनको मतभार भन्दा १९ मतभार कम हो। उसो त सत्ता गठबन्धनका अन्य उम्मेदवारले श्रेष्ठको भन्दा पनि कम मतभार प्राप्त गरे। महिलातर्फ नेकपा माओवादीकी मनरुपा शर्माले ३ हजार ६ सय ६० मतभार प्राप्त गरिन्। यो गठबन्धनको मतभार भन्दा १६७ मतभार कम हो । त्यस्तै, अपाङ्गता तथा अल्पसंख्यकतर्फ काँग्रेसका पदमलाल परियारले गठबन्धनको मतभार भन्दा ५३ मतभार कम पाए।

अर्कातर्फ ढोरपाटनका मेयर देवकुमार नेपाली अनुपस्थित भएपछि कुल २ हजार ४ सय ३९ मतभार रहेको एमालेका अन्यतर्फका उम्मेदवार चक्रप्रसाद पराजुलीले ३८, अपाङ्गता तथा अल्पसंख्यकतर्फका उम्मेदवार हेमेन्द्र शेरचनले १९ र महिलातर्फकी उम्मेदवार सम्झना देवकोटाले १ सय १४ मतभार बढी प्राप्त गरे। राप्रपाका दुई सांसदले भने आफ्ना उम्मेदवारलाई नै मतदान गरेको निर्वाचन परिणामले देखाएको छ।

प्रकाशित: ११ माघ २०८० ११:३४ बिहीबार

गण्डकी प्रदेश