राजनीति

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार राष्ट्रपति कार्यालयमा सपथ लिँदै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर। तस्बिर: प्रदीपराज वन्त/ रासस

काठमाडौँ (रासस)- राष्ट्रपति विद्यादेवी भण्डारीले आज ज्येष्ठ सदस्य प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।
ठाकुरले मातृभाषा मैथिली भाषा र भट्टले नेपाली भाषामा शपथ लिए। गत मंसिर १० र २१ गते प्रतिनिधिसभा र माघ २४ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो।
ज्येष्ठ सदस्य ठाकुर प्रदेश नं २ अन्तर्गत महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएका हुन्। उनीहाल ७१ र भट्ट ६९ वर्षकी छन्। शीतल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिगण, संवैधानिक एवं सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतको उपस्थिति थियो।
नेपालको संविधान २०७२ को धारा ९१ को उपधारा ५ अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएका अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ।
त्यसैगरी धारा ९२ को उपधारा ५ अनुसार राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन नभइसकेका अवस्थामा उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले राष्ट्रियसभाको बैठकको अध्यक्षता गर्ने प्रावधान छ।
आज अपराह्न ४ बजे ज्येष्ठ सदस्य ठाकुरले संघीय संसद् भवन बानेश्वरमा प्रतिनिधिसभाका २७५ सांसदलाई तथा अपराह्न ५ बजे राष्ट्रियसभाका ज्येष्ठ सदस्य भट्टले ५९ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।
 

 

प्रकाशित: २० फाल्गुन २०७४ ०९:५९ आइतबार

राष्ट्रपतिबाट ज्येष्ठ सदस्यलाई शपथ