राजनीति

संघीय संसदको अन्तरिम कार्यविधि पहिलो बैठकले पारित गर्ने

काठमाडौं – संघीय संसद बैठक सञ्चालनका लागि ‘संसद नियमावली’ नबनुन्जेलसम्म आवश्यक पर्ने अन्तरिम कार्यविधि संसदको पहिलो बैठकले पारित गर्ने भएको छ। 

संघीय संसद सचिवालयले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधिसँग बुधबार गरेको छलफलमा दुवै सदनको पहिलो बैठकबाट सम्बन्धित अन्तरिम कार्यविधि पारित गर्ने सहमति भएको हो। 

छलफलमा संसद बैठकको पहिलो दिनको कार्यसूची बनाउने र त्यसपछिका बैठकको तयारीबारे सहमति बनेको सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए। संसद नियमावली तयार नहुन्जेलसम्मका लागि उक्त कार्यविधिका आधारमा दुबै सदनका बैठक सञ्चालन हुनेछन्। 

सचिवालयले दलका प्रतिनिधिलाई अन्तरिम कार्यविधिको मस्यौदा उपलब्ध गराएको र दलहरूले त्यसमा आवश्यक सुझावसहित यही फागुन २० गते १० बजे पुनः बस्ने सर्वदलीय बैठकबाट अन्तिम रुप दिने सहमति भएको बैठकमा सहभागी काँग्रेस नेत्री डा डिला संग्रौलाले बताइन। 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा संविधानको धारा ९३ ९१० बमोजिम फागुन २१ गते अपराह्न ४ बजेका लागि दुवै सदनको बैठक आह्वान गरेकी छन्। 

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक फागुन २१ गते एउटै समयमा सम्बन्धित सदनका सभाहलमा बस्दैछ। फागुन २० गते दुवै सदनका ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन्। त्यसअघि दुवै सदनका जेष्ठ सदस्यलाई फागुन २० गते दिउँसो १ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ख्वाउने निश्चित भएको एमाले नेता भानुभक्त ढकालले जानकारी दिए। 

प्रतिनिधिसभामा राजपा नेपालका सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय महेन्द्रराय यादव र राष्ट्रियसभामा काँग्रेसका ६९ वर्षीया तारादेवी भट्ट जेष्ठ सदस्य छन्। सभामुख र अध्यक्षको निर्वाचन नभएसम्म उनीहरूले नै बैठकको अध्यक्षता गर्नेछन्। 

संविधानअनुसार संसदको पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नेबारे समेत छलफल भएको छ। त्यस्तै प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार सचिवालयले बैठकमा दलहरूको ध्यानाकर्षण गराएको छ। 

दलका प्रतिनिधिहरूले उल्लिखित कार्यसँगै राष्ट्रपतिको निर्वाचनसम्मका तयारीका लागि सचिवालयले गृहकार्य गरोस् भन्दै आगामी बैठकमा त्यसबारेमा निर्णय गर्ने जनाएका छन्। फागुन २० गते प्रतिनिधिसभाका सदस्यको शपथ अपराह्न ४ बजे र राष्ट्रियसभा सदस्यको शपथ अपराह्न ५ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा तोकिएको छ। 

शपथमा सदस्यहरूलाई राष्ट्रिय पोशाक एवं राष्ट्रियता तथा संस्कृति झल्कने पोशाक निर्धारण गरिएको छ। साथै सदस्यहरूलाई नागरिकता वा निर्वाचित प्रमाणपत्रको प्रतिलिपिसहित बैठकमा उपस्थितिका लागि सूचित गरिएको सचिवालयले जनाएको छ। 

बैठकमा एमालेका सुवास नेम्वाङ, काँग्रेसका डा मीनेन्द्र रिजाल, माओवादी केन्द्रका कृष्णबहादुर महरा, राजपाका यादवलगायतका नेता सहभागी थिए। 

संसदको तल्लो सदन प्रतिनिधिसभामा २७५ र माथिल्लो सदन राष्ट्रियसभामा ५९ सदस्य छन्। प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ मा दुई चरणमा भएको थियो भने राष्ट्रियसभाको निर्वाचन गत माघ २४ मा सम्पन्न भएको थियो। रासस

प्रकाशित: १६ फाल्गुन २०७४ १४:४९ बुधबार

संघीय संसदको अन्तरिम कार्यविधि पहिलो बैठकले पारित गर्ने