राजनीति

कांग्रेसले सृदृढ र सशक्त कांग्रेस अभियान सञ्चालन गर्ने

बाजुरा – नेपाली कांग्रेस बाजुराले आगामी पाँच वर्ष सृदृढ र सशक्त कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको सोमबार बसेको जिल्ला कार्य समिति बैठकले अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको हो। 

बैठकले आन्तरिक कारणले पार्टीले हार ब्यहोर्नु परेको निस्कर्ष निकालेको छ। नीतिगत रुपमा हारेपनि जनमतमा कांग्रेस नहारेको बैठकमा सहभागी नेताहरुले बताएका छन्। बाम एकताले चुनावमा पराजय भोग्नु परेपनि पार्टीको हार नभएको जिल्ला सभापति कविराज पण्डितले बताए। 

पार्टीलाई अन्तर्घात गर्ने कार्यकर्ताको पहिचान गरी न्यायिक समितिबाट कारबाही गरिने पार्टीका प्रवक्ता नरबहादुर शाहीले बताए। न्यायिक समितिमा महा नेपाली, नरेन्द्र कुमार रोकाया र चक्रबहादुर शाह छन्। स्थानीय प्रशासनको गैरजिम्मेवारी र पूर्वाग्रहका कारण कांग्रेसले पराजय भोग्नु परेको पूर्व भूमिसुधार सहायक मन्त्री जनकराज गिरीले बताए।

बैठकले निर्वाचन सम्पन्न भएको तीन महिनापछि पराजय भोग्नुको कारणबारे समिक्षा गर्नुका साथै निर्वाचन सफलता पूर्वक सम्पन्न गर्न पार्टी सभापतिले खेलेको भूमिकाको प्रशंंसा गर्दै धन्यवाद ज्ञापन गरेको छ।

प्रकाशित: १६ फाल्गुन २०७४ १३:२६ बुधबार

कांग्रेसले सृदृढ सशक्त कांग्रेस अभियान सञ्चालन गर्ने