राजनीति

प्रदेश ३ को मन्त्रिपरिषदले पूर्णता पायो

मकवानपुर- प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरि ७ सदस्यीय बनाएका छन्। नेकपा एमालेका तर्फबाट ३ र माओवादी केन्द्रका तर्फबाट १ जनाले मन्त्रीको सपथ लिएसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो।

एमालेका तर्फबाट रामेछापका कैलाश प्रसाद ढुङ्गेल आर्थिक मामिला तथा योजना मन्त्री, सिन्धुपाल्चोकका अरुण प्रसाद नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र चितवनका दावा दोर्जे लामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भएका छन् । ढुङ्गेल र लामा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेता हुन् भने नेपाल वरिष्ठ नेता माधव नेपाल समूहका मानिन्छन्।

त्यस्तै, माओवादीका तर्फबाट युवराज दुलाल सामाजिक विकास मन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले पद तथा गोपनियताको शपथ खुवाईन् । कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश मन्त्रीहरु, प्रतिनिधी सभाका साँसदहरु, प्रदेश सभा सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो।

माघ २९ गते सपथ लिएका मुख्यमन्त्री पौडेलले सोही दिन ३ सदस्सीय मन्त्रिमण्डल गठन गरेका थिए । एमालेका केशव स्थापितलाई भौतिक पूर्वाधार विकास र माओवादी केन्द्रका शालिकराम जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिईएको थियो।

नेपालको ७ प्रदेशमध्ये प्रदेश नम्बर ३ ले सबैभन्दा पहिला मुख्यमन्त्रीसहित ३ मन्त्री पाएपनि मन्त्रिपरिषदले पूर्णतामा भने आन्तरिक तयारीका कारण ढिलाई भएको थियो । मुख्यमन्त्री डोरमणि पौडेल संघीय राजधानी काठमाडौंमा गएका बेला उपचारका लागि भारत गएकी प्रदेश प्रमुख अनुराधा कोईराला फर्किए लगत्तै मन्त्रिपरिषद विस्तार गरिएको हो।

१ सय १० जना प्रदेश सभाषद रहेको प्रदेश नम्बर ३ मा १० प्रतिशत मन्त्री बनाउँदा ११ जना मन्त्री बन्न सक्छन्। तर सत्तारुढ नेकपा एमाले प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले ७ सदस्सीय मात्र मन्त्रिपरिषद बनाउने बताएका छन् ।

प्रदेश सभामा एमालेको ५८, माओवादी केन्द्रको २३, नेपाली काँग्रेसको २१, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीको २, नयाँ शक्ति पार्टी नेपाल, राप्रपा, र राप्रपा(प्रजातान्त्रिक)का १–१ जना प्रदेश सांसद रहेका छन्।

 

प्रकाशित: १६ फाल्गुन २०७४ १२:५१ बुधबार

प्रदेश को मन्त्रिपरिषदले पूर्णता पायो